महोत्तरी । साउन महिना सुरु भएपछि महोत्तरीको जलेश्वर नगरपालिका–५ चौरिया बस्तीका ८० वर्षीय हरिहर साहको मन अझै ढक्क फुल्छ ।
पञ्चायतकालमा २०४० साल साउन ६ गते नेपाली प्रजातान्त्रिक आन्दोलनका प्रणेता विश्वेश्वरप्रसाद कोइराला (वीपी कोइराला) को प्रथम वार्षिकीमा आफ्नै बस्तीको सार्वजनिक चउरमा वृक्षारोपण गर्दा प्रहरी आएर लखेटेको साहलाई भर्खरकै घटनाझैँ लाग्दैछ । यसपालि पनि साहलाई साउन ६ ले खुबै रुमल्यायो । पञ्चायतकालका ती अँध्यारा दिन सम्झायो ।
'हामी वीपीको प्रथम वार्षिकीमा वृक्षारोपण गर्दै थियौँ, एक्कासि प्रहरी आएर सिठी बजाउँदै लाठी बजार्न लागे,' आजभन्दा ४० वर्ष पहिलेको घटना सम्झँदै साहले भने, 'नजिकै दशगजा नाघेर हामी भारत पुग्यौँ ।'
नेपाल भारत सीमासँगै जोडिएको चौरिया बस्तीको चउरमा रोपिएको पिपल पनि अब ४० वर्षको भएको साहले हिसाब लेखा लगाउँदै बताए ।
'अहिले हामीले खोजेको चाहेको जस्तै बहुदलीय प्रजातान्त्रिक व्यवस्था छ,' साह भन्छन्, 'यसबाट के-के पाइयो, म लेखा लाउन सक्दिनँ । तर, हामीले पञ्चायत ढाल्ने मनसुवाले रोपेको पिपलको शीतल छहारी भने पाएका छौँ ।'
त्यतिखेर बिरुवा रोप्दा अन्य जातका रोपिए पञ्चले दख्खल गर्लान् भन्ने छलफलले नै पिपल छानिएको साहको भनाइ छ । 'हामीले ठीक गरेछौँ पिपल रोपेर, अहिले यी पिपलका रुख बस्तीभरिका सबैका लागि शीतल छहारी बनेका छन्,' डबरी र पूर्नी पोखरी डिलका ६ ओटा वयस्क घना छहारीयुक्त पिपल देखाउँदै साहले भने ।
जलेश्वर नगरपालिकामा गाभिनुअघि पर्सापतैली गाविस (पञ्चायतकालमा पर्सापतैली गाउँपञ्चायत) को एउटा वडा बस्ती चौरिया जिल्लाभरि नै पञ्चायतविरोधी आन्दोलनको संयोजन गर्ने ठाउँ थियो ।
तत्कालीन नेपाली कांग्रेसका नेता गणेश नेपाली सबैका साझा नेता थिए ।
'नेपालीजीले नै हामीलाई पञ्चायतविरुद्ध लाग्न प्रेरणा दिनुभयो,' चौरियाकी ७५ वर्षीया रामपरीदेवी कापर पुराना कुरा सम्झँदै भन्छिन्, 'हामी आपसी अभिवादनको शिष्टाचार आदानप्रदान ‘जयनेपाल’ बाट गर्थ्यौं, जुन चौरियामा हालसम्म निर्वाह हुँदै आएको छ ।'
पञ्चायतकालमा ‘कांग्रेस गाउँ’ भनेर चिनिने चौरिया कालान्तरमा बिभिन्न पार्टीको आधारक्षेत्र भनिँदै/माँनिदै आए पनि आफ्नो बस्तीको एकअर्कोप्रति जनाइने शिष्टाचार भने अझै ‘जयनेपाल’ नै रहेको कापर बताउँछिन् ।
‘जयनेपाल’को शिष्टाचार सिकाउने नेपालीजी (स्व. गणेश नेपाली) नै पछि कांग्रेस छाडेर एमाले हुँदै मधेशकेन्द्रित दल तराई मधेश लोकतान्त्रिक पार्टीमा आबद्ध भए । तर, आफ्नो बस्तीमा एकआपसमा र यहाँ आउने जोसुकै पाहुनालाई भने चौरियाबासी अहिले पनि ‘जयनेपाल’ कै शिष्टाचारबाट स्वागत अभिवादन गरीरहेका कापर सगर्व बताउँछिन् ।
अहिले नेपाली प्रजातान्त्रिक आन्दोलनका योद्धा स्व. गणेश नेपालीको नेतृत्वमा पञ्चायतकालमा जननेता वीपी कोइरालाका नाउँमा रोपिएका पिपल घना छहारीदार मात्र हैन, चौरिया बस्ती आफ्नै पुछारको डबरी र पुर्नी पोखरी माझमा स्व. नेपालीकै स्मृतिमा निर्मित उद्यान (पार्क) ले मनोरम बनेको छ ।
दुवै पोखरी डिलबीचको ०–७–१० (सात कठ्ठा १० धुर) जग्गामा मधेश प्रदेश सरकारको सहयोगमा ‘स्वर्गीय गणेश नेपाली स्मृति उद्यान (पार्क)’ निर्माण सम्पन्न हुने अन्तिम चरणमा छ ।
उद्यान परिसरभित्र पिपल, समी र अशोकका छायाँदार रुखमा चौतारा छन् । वीपी कोइरालाका स्मृतिमा पञ्चायतकालमा रोपिएका यी वृक्ष (रुख) ले सधैँ प्रजातान्त्रिक आदर्शप्रति अविचल रूपमा उभिइ रहन प्रेरित गरीरहेका स्व. नेपालीका राजनीतिक सहकर्मी सो बस्तीकै ६५ वर्षीया सरस्वती कापर बताउँछिन् ।
'हामीलाई स्व. नेपालीले आन्दोलनमा जोड्नुभयो, अहिले उहाँको स्मृति सधैँ जीवन्त रहनेगरी उद्यान निर्माण अन्तिम चरणमा छ,' कापर भन्छिन्, 'स्व. नेपालीको शालिकसहितको यो उद्यानले एकसाथ उहाँ र जननेता वीपी कोइरालालाई सम्झाउँदै प्रजातान्त्रिक आदर्शप्रति समर्पित रहन प्रेरित गरिरहन्छ ।'
उद्यानमा हिन्दू परम्पराका देवता सङ्कटमोचन महावीर (हनुमान) मन्दिर , परिसरभित्रका रुखमा झिलिमिली बत्ती जडान, परिसरभित्र सङ्खमरमर, सधैँ हरियो रहने दुबो, तीन/तीन जना आरामले बस्न मिल्ने २५ ओटा सिमेन्टका बेन्च र आकर्षक मञ्चले यो ठाउँ खास बनेको चौरिया बस्तीकै ७० वर्षीय ठकन चौधरी बताउँछन् ।
उद्यान परिसर चारैतिरबाट पक्की पर्खालले घेरिँदा यो चीरकालसम्म सुरक्षित रहने चौरियाबासीले आश संगालेका छन् । नगरपालिका भनिए पनि ग्रामीण परिवेशको आफ्नो बस्तीमा निर्मित यो संरचनाले नेपालको प्रजातान्त्रिक आन्दोलनमा यो माटोको योगदानलाई स्मरण गराइरहने चौरियाबासी सगर्व बताउँछन् ।
उद्यान निर्माणसँगै जोडेर डबरी र पुर्नी पोखरीबाट सिँचाइका लागि पानी भण्डारण र निस्कासनको प्रबन्धसँगै यहाँका किसानले सहुलियत पाउने भएका छन् ।
उद्यान परिसरसम्म सडकले जोडेपछि यो एक मनोरम पर्यटकीयस्थलका रूपमा विकास गर्ने जलेश्वर–५ का वडाअध्यक्ष कृष्णमोहन शर्मा बताउँछन् । यो उद्यानले प्रजातान्त्रिक आन्दोलनमा स्व. नेपाली र चौरिया बस्तीको योगदानलाई सम्झेको उनकी राजनीतिक सहकर्मी तथा जीवनसँगिनी दानादेवी नेपालीको धारणा छ ।
उद्यान निर्माणको कार्य करिब स्वीकृत इष्टिमेटअनुसार सम्पन्न भएको स्व. गणेश नेपाली स्मृति उद्यान निर्माण समितिका अध्यक्ष मदन कापरले जानकारी दिए । 'स्वीकृत प्रस्तावअनुसारको काम करिब सम्पन्न भएको छ,' अध्यक्ष कापर भन्छन्, 'अब वीपी कोइरालाको जन्मजयन्ति (भदौ–२४), स्व. नेपालीको जन्मजयन्ति (असोज ९ गते) वा स्व. नेपालीको स्मृति दिवस (कुशे औँशी) को अवसर पारेर नेपालीको शालिक अनावरण गरेपछि काम सम्पन्न हुनेछ ।'
यो स्मृति उद्यान निर्माणका लागि मधेश प्रदेश सरकारबाट ६५ लाख रकम प्राप्त भएको अध्यक्ष कापरले जानकारी दिए ।
अहिले निर्मित स्मृति उद्यानलाई चौरियाबासी आफ्नो बस्तीलाई प्रजातान्त्रिक आन्दोलनसँग जोडेर मूल्याङ्कन गर्छन् । 'यो स्व. वीपी कोइराला, प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा स्व. गणेश नेपालीसँगै हाम्रो बस्तीको पनि सम्मान हो,' उद्यान परिसरभित्रको महावीर मन्दिरका पुजारीसमेत रहेका ६० वर्षीय रत्नेश चौधरी भन्छन्, 'यो मधेश प्रदेश सरकारको सदासयतालाई चौरियाले सधैँ सम्झिरहने छ ।'
प्रजातान्त्रिक आन्दोलनका योद्धा गणेश नेपाली २०४६ सालको ऐतिहासिक जनआन्दोलनताका नेपाली कांग्रेस महोत्तरीको सभापतिका हैसियतमा जिल्लाभरि संयुक्त जनआन्दोलनको मुख्य संयोजक थिए ।
'हाम्रो बस्ती सधैँ पञ्चायतकालमा पञ्च र प्रहरी प्रशासनको तारो रह्यो,' स्व.नेपालीकै प्रेरणाले त्यतिखेर प्रजातान्त्रिक आन्दोलनमा होमिएका ७० वर्षीय रहिमन मण्डल सम्झन्छन्, 'नजिकमा बोर्डर (नेपाल भारत सीमा) नभए पिस्कर (सिन्धुपाल्चोक) झैँ हामी पिसिन्थ्यौँ होला, तर यो बोर्डर हाम्रो आन्दोलनमा सहयोगी बन्यो ।'
समय अनुकूल हुँदा बस्तीबस्ती पसेर पञ्चायतविरुद्ध जनमत बनाउने र अलि प्रतिकूल हुनासाथ बँच्दै आन्दोलन बढाउन भारत पस्ने त्यतिखेर कांग्रेस/कम्युनिष्टका लागि आम कुरा हुने गरेको मण्डल सम्झन्छन् । अहिले निर्मित स्मृति उद्यान बस्तीभरिकै बासिन्दाका लागि प्रातः(बिहान) र सायंकालीन (साँझ) को योग, ध्यान, अध्ययन र शीतल ताप्ने गन्तव्य बनेको मण्डल बताउँछन् ।
चौरिया बस्तीमा पञ्चायतकालमा वीपी स्मृतिमा रोपिएका पिपल र पछि थपिएका , समी र अशोकका रुखले दिने शीतलतालाई यहाँका बासिन्दा प्रजातन्त्रको शीतल छहारीको संज्ञा पनि दिन्छन् । 'हाम्रा सामाजिक, सांस्कृतिक र धार्मिक परम्पराका थुप्रै पर्व छन्,' चौरियाको प्रजातान्त्रिक आन्दोलनलाई नजिकबाट नियालेका स्व. नेपालीका समवयी ८० वर्षीय अवकासप्राप्त शिक्षक रामपदारथ चौधरी भन्छन्, 'हाम्रो बस्तीका सन्दर्भमा प्रत्येक साउन–६ समर्पण, सङ्कल्प र प्रजातान्त्रिक निष्ठाप्रति आफूलाई उभ्याइरहने पर्व रहँदै आएको छ ।'
प्रत्येक साउन–६ मा आफ्नो बस्तीमा वीर वीपीः जिन्दावाद, गणेश नेपालीः अमर रहून् नारासँगै जसले जहाँ सम्भव छ (आफ्नै वा सार्वजनिक जग्गा) , कमसेकम एउटा नयाँ रुख रोप्ने संस्कृति नै बसेको चौधरी बताउँछन् ।
तश्वीरः उद्यान परिसरका संरचना (मन्दिर, मञ्च, रुख , वेञ्चआदि) र अनावरण हुन बाँकी रहेको शालिकमुनि स्व. गणेश नेपालीको परिचय समेटिएका शिलालेख छन् ।