काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुन तस्करीको मुख्य मालिक पक्राउ पर्ने पर्खाइमा आफ्नो पार्टी रहेको बताएका छन् ।
शनिबार पार्टीको भक्तपुर नगर समिति गठन तथा घोषणासभामा रास्वपा सभापति लामिछानेले सरकारले सुनको भरिया पक्राउ गरे पनि अझै मुख्य मालिक पक्राउ नपरेको बताए । आफ्नो पार्टी सुनका ती मुख्य मालिक पक्राउ पर्ने पर्खाइमा रहेको उनको भनाइ छ ।
'सुन तस्करीका मुख्य मालिक सरकारले कहिले पक्राउ गर्छ भनेर हामी हेरेर बसेका छौँ, पक्कै पक्राउ पर्छ भन्ने पर्खाइमा पनि छौँ,' रवि लामिछानेले भने ।
जनताको भारी मतले आएको रास्वपालाई बेला–बेला कुनै दलको पछि लाग्यो भन्ने आरोप लाग्ने गरेकामा आपत्ति प्रकट गर्दै आफ्नो पार्टीलाई कसैको भारी बोकेर र पछि लागेर हिँड्नुपर्ने आवश्यकता नरहेको उनको भनाइ छ ।
रास्वपालाई सिध्याछु भन्ने कसैले पनि नसोच्न आग्रह गर्दै उनले यो पार्टीभित्र एकसे एक होनाहार नेताहरू रहेकाले कसैले सिध्याउन नसक्ने बताए ।
रास्वपामा आउनेको लहर चलेको बताउँदै स्वार्थ लिएर यो पार्टीमा प्रवेश नगर्न उनको आग्रह थियो ।
'हाम्रो पार्टीमा प्रवेश गर्नेहरूलाई कुनै स्वार्थ नलिई आउन आह्वान गर्दछु, यो पार्टीमा आउनेबित्तिकै अब म वडाध्यक्ष, मेयर, उपमेयर, सांसद हुन्छु वा २०८४ को चुनावमा अब म उम्मेदवार हुँ भन्ने चर्चा गर्दै नहिँड्नुस्,' लामिछानेले भने ।
उनले स्वार्थ बोकेर पार्टीमा नआउन पनि सचेत गराए । 'स्वार्थ बोकेर आउनेलाई यो पार्टीमा ठाउँ छैन, आउँदो चुनावमा जनताले चाहेको नेतृत्व खोज्न त्यतिखेरै पार्टी लाग्नेछ, त्यस्ता चर्चा कसैले नगरौँ,' उनले भने ।
पार्टीमा रहेर कुनै पनि व्यक्तिले नराम्रो काम गरेको पाइए तत्कालै पार्टीले कारबाही गर्ने बताउँदै उनले त्यसतर्फ सचेत रहन आग्रह गरे ।