काठमाडौं । काठमाडौंका एक बालक सामाखुसी खोलामा बगेर बेपत्ता भएको एक हप्ता पूरा भएको छ । तर, पनि हालसम्म पनि उनलाई अझै फेला पार्न सकिएको छैन ।
१३ वर्षीय बालक साजन मगर यही साउन ७ गते काठमाडौंको सामाखुसी खोलामा आएको बाढीले बगाउँदा बेपत्ता भएका थिए । तर, बाढीमा परी उनी बेपत्ता भएको एक हप्ता पुग्दा पनि फेला पर्न सकेका छैनन् ।
खोलाले बगाउँदा बेपत्ता भएका बालकको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरीको विपद् व्यवस्थापन टोली तथा गोताखोर टोली तालिमप्राप्त कुकुरको सहयोगमा खोजी कार्य भएको थियो । तर, पनि मगरलाई भेट्टाउन सकिएको छैन ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख दानबहादुर कार्कीका अनुसार प्रहरी सशस्त्र प्रहरीलगतयले खोजी कार्य जारी राखे पनि मगरलाई फेला पार्न नसकिएको जानकारी दिए ।
'विपद् व्यवस्थापनको टोलीले तालिमप्राप्त कुकुरको सहयोगमा सामुखुसी खोला पूरै खोजीकार्य गरेको र गोताखोरले हिलोमा समेत छिरेर खोजीकार्य गर्दा समेत फेला पार्न सकेको छैन,' कार्कीले भने, 'यहाँबाट बगेर जान सक्ने क्षेत्रमा रहेका प्रहरी युनिटमा समेत हामीले खबर गरेका छौँ, अहिलेसम्म फेला परेको खबर छैन ।'
बेपत्ता बालकको अहिले पनि खोजीकार्य जारी रहेको छ । काठमाडौंको पानीपोखरीको भानुभक्त मेमोरियल स्कुलमा कक्षा ६ मा अध्ययनरत निज बालक यही साउन ७ गते साँझ फुटसल खेल्न जाँदै गर्दा पर्खालबाट खसेर सामाखुसी खोलामा बगेर बेपत्ता भएका थिए ।