महाभारतमा पितामह भीष्म अर्जुनको वाँणले घायल भएर शय्यामा थिए । भीष्म सुरवीर मात्र थिएनन् अत्यन्तै ज्ञानी महात्म पनि थिए ।
सोही कारण भगवान श्रीकृष्णले युधिष्ठिरलाई पितामह भीष्मसँग ज्ञान लिनका लागि जान आग्रह गरे । श्रीकृष्णले युधिष्ठिरलाई भने- राजन् तपाईंको मनमा अशान्ति छ । तपाईं गएर यसबारेमा पीतामह भीष्मसँग कुरा गर्नुहोस् र आफ्नो अज्ञानता दुर गर्नुहोस् ।
श्रीकृष्णले युधिष्ठिरलाई भनेका थिए- धर्मको ज्ञान हुनेहरूमा पितामह भीष्म सवैभन्दा श्रेष्ठ छन् ।
भगवान श्रीकृष्णको आज्ञानुसार युधिष्ठिर, श्रीकृष्ण, कृपाचार्य तथा सबै पाण्डवको साथ कुरुक्षेत्रमा पितामह भीष्म भएको ठाउँमा पुगे ।
त्यसपछि वाँणको शय्यामा परिरहेका पितामहलाई युधिष्ठरले आफूलाई धर्मोपदेश दिन आग्रह गरे । त्यसबेला भीष्मले युधिष्ठिरलाई जे उपदेश दिए वास्तावमा त्यो निकै महत्वको छ ।
भीष्मले युधिष्ठिरलाई दिएको उपदेश हाम्रो लागि पनि उपयोगी हुन सक्छ । यो उपदेशको पालन गर्दा हामी पनि जीवनमा आइपर्ने समस्याबाट बच्न सक्छौँ ।
भीष्मले युधिष्ठिरलाई जीवनसँग जोडिएका मूल्यवान उपदेश दिएका थिए । जब युधिष्ठिरले लामो आयु र स्वस्थ जीवनको रहस्य जान्न उत्सुक देखिए तब पितामह भीष्मले यसबारे पनि युधिष्ठिरलाई सविस्तार जानकारी गराएका थिए ।
पितामह भीष्मले युधिष्ठिरलाई दिएका उपदेशमध्ये हाम्रो जीवनमा पनि अनुकरणीय हुन सक्ने यी उपदेशहरू प्रस्तुत गरिएको छ ।
- आफ्नो मनलाई नियन्त्रणमा राख्नु जरुरी छ ।
- घमण्ड गर्नुहुँदैन । घमण्ड त्याग्नु जरुरी छ ।
- बढ्दै जाने र असिमित इच्छालाई नियन्त्रणमा राख्नु जरुरी छ ।
- आफ्नो कडा आलोचना तर, वास्तविक कुरा सुनेर तत्कालै कठोर प्रतिक्रिया दिइहाल्नु हुँदैन ।
- पीडाको समयमा पनि शान्त र सबैलाई सम भाव राख्नु आवश्यक हुन्छ ।
- अतिथि तथा लाचारलाई आश्रय दिनुपर्छ ।
- विनयपूर्वक शास्त्रको अध्ययन र श्रवण गर्नु पर्दछ ।
- दिउँसो सुत्नु हुँदैन ।
- आफ्नो सम्मानको इच्छा राख्नु हुँदैन तर, अर्कालाई भने सम्मान गर्नुपर्छ ।
- रिसाउनु हुँदैन । कसैमाथि पनि रिस गर्नु हुँदैन ।
- स्वादको लागि होइन, स्वास्थ्यका लागि भोजन गर्नु आवश्यक हुन्छ ।