काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को आन्तरिक विवाद चर्किएको छ । सोमबार लोसपाले जम्बो पदाधिकारी र केन्द्रीय कमिटी गठन गरेसँगै विवाद बढेको हो ।
सोमबार पुनर्गठित लोसपाको केन्द्रीय समितिमा पदाधिकारी नै ६३ जना छन् । केन्द्रीय सदस्यको संख्या ३११ पुर्याइएको छ ।
पदाधिकारी संख्या ६३ पुर्याएको लोसपाले त्यसमा आफन्त र आसेपासेलाई राखेर योग्य व्यक्तिलाई समावेश नगरेको भन्दै विवाद बढेको हो । यसले पार्टीको काममा निरन्तर खटेका नेता-कार्यकर्तामाथि अन्याय भएको लोसपाकै नेताहरूले बताउन थालेका छन् ।
खासमा पार्टी अध्यक्ष महन्थ ठाकुरदेखि वरिष्ठ नेताहरू राजेन्द्र महतो तथा शरतसिंह भण्डारीसमेतले आफन्तलाई पदाधिकारी बनाएको भन्दै विवाद बढेको हो । नेताहरूले भाइ, भतिज, सम्धी, सम्धीनीदेखि छोरी ज्वाइँसम्मलाई पादाधिकारी बनाएको भन्दै असन्तुष्टि बढेको हो ।
लोसपाले ६ जनालाई त पार्टीको वरिष्ठ उपाध्यक्ष बनाएको छ । त्यस्तै १५ जनालाई उपाध्यक्ष बनाइएको छ । महासचिव मात्रै १६ जना भएका छन् ।
त्यस्तै सहमहासचिव ८ जना र सचिव ११ जनालाई बनाइएको छ । एक जना सहकोषाध्यक्ष र एक जना प्रवक्ता समेत जोड्दा अध्यक्ष र वरिष्ठ नेतासहित लोसपाको पदाधिकारी संख्या ६३ पुगेको हो ।
लोसपाको अध्यक्षमा महन्थ ठाकुर छन् भने राजेन्द्र महतो, शरतसिंह भण्डारी र अनिल कुमार झा वरिष्ठ नेता बनेका छन् । त्यस्तै सर्वेन्द्रनाथ शुक्ल वरिष्ठ सहअध्यक्ष बनेका छन् ।
यो समेत लोसपाको केन्द्रीय कमिटी जम्बो बनेको हो ।
लोसपा मधेशमा जसपा र जनमत पार्टीसँग प्रतिस्पर्धामा छ । तर, अन्तरविरोधकै कारण लोसपाले यसपटक थ्रेसहोल्ड कटाउन नसक्दा राष्ट्रिय पार्टी बन्न सकेन ।
लोसपाले आगामी चुनावमा आफूलाई राष्ट्रिय पार्टीका रूपमा स्थापित गर्ने लक्ष्य लिएको छ । तर, नेताहरूले आफन्तलाई पदाधिकारीमा प्राथमिकता दिएको भन्दै कार्यकर्ता तहमा तीव्र असन्तुष्टि बढेको छ । यस्तोमा लोसपाले आन्तरिक विवाद झन् बढ्दै जाने देखिन्छ ।