काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज बुधबार छोङ्छिङ्बाट ल्हासा पुगेका छन् ।
सिछ्वान एअरलाइन्स मार्फत स्थानीय समयअनुसार करिब १२ बजे प्रधानमन्त्री प्रचण्ड चीनको स्वशासित क्षेत्र तिब्बतको ल्याहासास्थित गोंगार विमानस्थलमा अवतरण भएका हुन् । गोंगार विमानस्थलमा प्रधानमन्त्री प्रचण्डलाई सांस्कृतिक झाँकीसहित भव्य स्वागत गरिएको उनको सचिवालयले जानकारी दिएको छ ।
कार्यक्रमको सूचीअनुसार आज साँझ प्रचण्डसँग चीनिया कम्युनिस्ट पार्टी सिचाङ (तिब्बत) स्वायत्त क्षेत्रीय समितिका सचीव वाङ चङ्छङ्ले भेटवार्ता गर्नेछन् । सचिव वाङले प्रचण्डको सम्मानमा आज साँज रात्रिभोजको आयोजना गर्नेछन् ।
चीनसँग सीमा जोडिएका नेपालका उत्तरी क्षेत्रबाट चीनसँग विद्युत् व्यापारका लागि प्रसारण लाइन निर्माणको समझदारी बनेको सन्दर्भमा प्रधानमन्त्री प्रचण्डले ल्हासाको भ्रमण गरेका हुन् ।
तिब्बतमा रहँदा प्रचण्डले कैलाश मानसरोवर (ताल ) एवं कैलाश पर्वतको भ्रमण समेत गर्ने कार्यक्रम छ । ल्हासामा प्रधानमन्त्री प्रचण्डले ल्हासाका लागि नेपालको महावाणिज्यदूतको कार्यालयमा भ्रमण गर्ने कार्यक्रम पनि रहेको छ ।
प्रधानमन्त्री प्रचण्डको साथमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, खानेपानीमन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार एवं यातायातमन्त्री प्रकाश ज्वालासहित भ्रमण दलका सदस्यहरू छन् ।
यसअघि प्रधानमन्त्री प्रचण्ड मंगलबार बेइजिङबाट छोङछिङ शहर आइपुगेका थिए । त्यहाँ उनले चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यसँग भेटवार्ताका साथै कृषिका क्षेत्रमा छोङछिङ महानगरले गरेका कार्यहरूको जानकारी लिएका थिए ।