काठमाडौं । काठमाडौं महानगरपालिकाले बिहीबारदेखि सुर्तीजन्य पदार्थको भण्डारण, बिक्रीवितरण र प्रयोगमा पूर्ण प्रतिबन्ध लगाएको छ ।
यसका लागि महानगरले मङ्सिर १२ मा १५ दिनको अवधि दिएर सार्वजनिक सूचना प्रकाशन गरेको थियो । महानगरका प्रवक्ता नवीन मानन्धरले सुर्तीजन्य वस्तु प्लाष्टिकले बेरेको वा कागजले बेरेको भए पनि हानिकारक हुने भएकाले कारोबारमा पूर्ण प्रतिबन्ध लगाएको बताए ।
कच्चा सुर्ती, खैनी, गुट्खा एवं चुसेर रस लिने सबै प्रकारका सुर्तीजन्य पदार्थको प्रयोग, बिक्री र भण्डारणमा प्रतिबन्ध लगाइएको मानन्धरले बताए ।
‘सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमनसम्बन्धी ऐन, २०६८ को व्यवस्था कार्यान्वयन गराउने अभियान हो, विधि प्रक्रिया तोकिएको छ । सार्वजनिक स्थलमा धुमपान गरे त्यस स्थानबाट निकाल्ने, एक सयसम्म जरिवाना गर्ने, सार्वजनिक स्थलको एक सय मिटर वरपर बिक्रीवितरण गरे सामान जफत गर्ने र पसल बन्द गर्नेसम्मको कारबाही गर्न सकिने ऐनमा व्यवस्था छ,’ उनले भने ।
मानन्धरका अनुसार यसका लागि निरन्तर अनुगमन गरिनेछ, अनुगमनका लागि १० जनाको समूहमा नगर प्रहरीका पाँच वटा टोली, सादा पोशाकमा नगर प्रहरी र कर्मचारी खटिनेछन् । ‘अनुगमन गर्दा पसलमा सुर्तीजन्य वस्तु पाइए सचेत गराउँदै दुई पटकसम्म जफत गर्ने र तेस्रो पटक पनि भेटिए पसल बन्द गराउनेसम्मको कारबाही हुनेछ,’ उनले भने ।