काठमाडौं । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले संयुक्त अरब एमिरेट्स र बहराइनसँग इजरेलले गरेको महत्त्पूर्ण सम्झौतालाई नयाँ मध्यपूर्वको मिरमिरे बिहानी भन्दै प्रशंसा गरेका छन् ।
इजरेलसँग सम्बन्ध पूर्ण रूपमा सामान्य बनाउन दुई खाडी मुलुकले सम्झौतामा हस्ताक्षर गरेपछि ट्रम्पले त्यस्तो बताएका हुन् ।
हस्ताक्षरकर्ता तीनवटै देशले सहमतिलाई ऐतिहासिक भनेका छन् । ट्रम्पले पनि त्यस्तै भनेका छन् जसको प्रशासनले सहमतिका लागि मध्यस्थता गरेको थियो ।
सन् १९४८ मा स्थापना भएयता इजरेललाई मान्यता दिने यूएई तथा बहराइन तेस्रो र चौथो अरब राष्ट्र हुन् ।
अरू देशले पनि यो कदमलाई पछ्याउने ट्रम्पको आशा छ । तर प्यालेस्टिनीहरूले आफूहरूसँगको द्वन्द्वको समाधान नभएसम्म त्यसो नगर्न आग्रह गरेका छन् ।
प्यालेस्टाइनसँगको विवाद अन्त्य गरेपछि मात्रै मान्यता दिने भन्दै दशकौँदेखि अधिकांश अरब राष्ट्रहरूले इजरेललाई बहिष्कार गर्दै आएका छन् ।
ह्वाइट हाउसमा मङ्गलवार आयोजित कार्यक्रममा ट्रम्पले भने, दशकौँपछिको विभाजन र द्वन्द्वपश्चात् आज हामीले मध्यपूर्वको मिरमिरे बिहानी देख्न पाएका छौँ ।
इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहुले सम्झौताको स्वागत गर्दै भनेका छन्, यो इतिहासको एउटा निर्णायक दिन हो । यसले शान्तिको एउटा मिरमिरे बिहानीको उद्घोष गरेको छ।
तर प्यालेस्टिनी नेता महमुद अब्बासले अधिनस्थ भूभागहरूबाट इजरेल हटेपछि मात्रै मध्यपूर्वमा शान्ति आउनसक्ने प्रतिक्रिया दिएका छन् ।
समाचार संस्था एएफपीका अनुसार तीन देशले सम्झौतामा हस्ताक्षर गरेपछि अब्बासले भने, इजरेली कब्जा अन्त्य नभएसम्म यो क्षेत्रमा शान्ति, सुरक्षा र स्थायित्व हासिल हुन सक्दैन।
इजरेली सेनाका अनुसार हस्ताक्षर कार्यक्रम चलिरहँदा गाजा क्षेत्रबाट इजरेलमा दुईवटा रकेट प्रहार गरिएका थिए ।
यूएई र बहराइनभन्दा पहिला मध्यपूर्वमा इजिप्ट र जोर्डनले मात्र इजरेललाई औपचारिक रूपमा मान्यता दिएका थिए ।
बिबिसी ।