काठमाडौं । संघीय संसद्ले विषयगत समितिका बैठक भर्चुअल प्रविधिबाट सञ्चालन गर्ने निर्णय गरेको छ ।
कोभिड–१९ का कारण समितिका बैठकलाई भर्चुअल गरी देश र जनताका समस्या उठान गर्ने निर्णय गरिएको सचिवालयले जनाएको छ ।
‘संसद् सचिवालयले भर्चुअल बैठकलाई औपचारिकता दिने निर्णय गरेको छ’, सचिवालयका प्रवक्ता डा। रोजनाथ पाण्डेले अन्नपूर्णसँग भने, ‘अब समितिका बैठकहरू भर्चुअल माध्यममार्फत बस्छन् ।’
यसअघि भर्चुअल बैठक गरे पनि सचिवालयले आधिकारिकता दिएको थिएन । तर, कोभिड संक्रमण फैलँदै भयावह बन्न थालेपछि एकै स्थानमा बसेर समितिका बैठक गर्न जोखिमपूर्ण हुने भन्दै सचिवालयले भर्चुअल मिटिङलाई अघि बढाउने निर्णय गरेको हो । लकडाउनबीच असार १८ गते संसद् अधिवेशन अन्त्य भएयता समितिका बैठक पनि नियमित र प्रभावकारी हुन सकेका थिएनन् ।
कोभिड नियन्त्रण, रोकथाम तथा उपचारबारे जनस्तरबाट व्यापक गुनासा आउन थालेको भन्दै सांसदहरूले समितिका बैठकलाई निरन्तरता दिन सभामुख, राष्ट्रियसभाध्यक्ष र सचिवालयका कर्मचारीलाई आग्रह गर्दै आएका थिए ।
‘यस्तो बेला त झन् जनताका पीरमर्काबारे जनप्रतिनिधि चुप लागेर बस्न मिल्दैन’, राष्ट्रियसभामा विपक्षी दलका नेता राधेश्याम अधिकारीले भने, ‘कोभिड नियन्त्रण, रोकथामका साथै सरकारका बेथिति, जनताका समस्याबारे संसद्ले सरकारलाई घच्घच्याउनै पर्छ ।’
अन्नपूर्ण पोस्ट दैनिकबाट ।