काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । गए राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।
निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यरातिदेखि लागू हुने गरी मूल्य घटाएको हो ।
निगमले पेट्रोलको मूल्यमा प्रतिलिटर १ रुपैयाँ र डिजेल/मट्टितेलको मूल्यमा प्रतिलिटर २ रुपैयाँ घटाएको छ ।
निगमले पेट्रोलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर एक सय ६८ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि एक सय ७० र तेस्रो वर्गका लागि एक सय ७१ रुपैयाँ तोकेको छ ।
यस्तै डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर एक सय ५५ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि एक सय ५७ र तेस्रो वर्गका लागि एक सय ५८ कायम भएको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए ।
पहिलो वर्गअन्तर्गत चारआली, विराटगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्ज, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ तथा तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायल रहेका छन् ।
इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट नयाँ खरिद मूल्यअनुसार पेट्रोल र डिजेलको मूल्य समायोजन गरिएको निगमले जानकारी दिएको छ ।