काठमाडौं । बिहीबार नेपालमा कोरोना भाइरस (कोभिड- १९) का १ हजार २ सय ४३ जना नयाँ संक्रमित थपिएका छन् ।
यससँगै नेपालमा कोरोना संक्रमित हरूको संख्या ५९, हजार ५ सय ७३ पुगेको छ ।
स्वास्थ तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा नेपालमा ४ जना कोरोना संक्रमितहरूको मृत्यु भएको छ । यससँगै नेपालमा हालसम्म ३८३ जना कोरोना भाइरस संक्रमितहरूको मृत्यु भएको छ ।
बिहीबार मोरङमा १, काठमाडौंमा १, चितवनमा १ र कैलालीमा १ गरी ४ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयले पछिल्लो २४ घण्टामा १ हजार २ सय ४३ जना कोरोना भाइरस संक्रमणमुक्त भइ डिस्चार्ज भएको पनि जानकारी दिएको छ । यससँगै हालसम्म निको हुनेको संख्या ४२ हजार ९ सय ४९ पुगेको छ ।
बिहीबार १० हजार ६ सय ४१ जनाको पिसिआर परीक्षण गरिएको जानकारी दिँदै मन्त्रालयले हालसम्म ८ लाख ८२ हजार ९ सय १५ जनाको पिसिआर परीक्षण गरिएको जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार हाल सक्रिय संक्रमितको संख्या १६ हजार २ सय ४१ रहेको छ । त्यस्तै नेपालमा हालसम्म ७२.०९ प्रतिशतले कोरोना जितेका छन् ।
मन्त्रालयले होम आइसोलेसनमा रहेनेको संख्या ८ हजार ३ सय ३८, संस्थागत आइसोलेसनमा रहेकाहरूको संख्या ७ हजार ९ सय ३ र क्वारिन्टिनमा हुनेहरूको संख्या ७ हजार ८ सय ८३ रहेको जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार प्रदेश १ का मोरङ र सुनसरी, प्रदेश २ को सिराहा, बाग्मती प्रदेशका काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर र चितवन तथा प्रदेश ५ को रूपन्देहीमा ५ सयभन्दा बढी संक्रमितहरू छन् ।
त्यस्तै सोलुखुम्बु, मुस्ताङ, डोल्पा, मुगु तथा हुम्लामा कोरोना भाइरसका संक्रमितहरू नरहेको जानकारी दिएको छ ।
काठमाडौं उपत्यकामा मात्र ६१८ जना थप संक्रमित
मन्त्रालयले काठमाडौं उपत्यकामा मात्र थप ६ सय १८ जना नयाँ संक्रमित भेटिएको जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार काठमाडौंमा ५ सय ७, भक्तपुरमा ५० र ललितपुरमा ६१ जना कोरोना भाइरसका नयाँ संक्रमितहरू थपिएका हुन् ।