काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतम राष्ट्रिय सभा सदस्यमा मनोनित भएका छन् । उनले बिहीबार नै पद तथा गोपनियताको सपथ खाएका छन् ।
लामो समयको रस्साकस्सीका बीच गौतम राष्ट्रिय सभा सदस्यमा मनोनित भएका हुन् ।
सुरुमा आफू राष्ट्रिय सभामा जाने भए संविधान संशोधन गर्नुपर्छ भन्ने अडानमा रहेका गौतमले राष्ट्रिय सभाको सदस्य समेत प्रधानमन्त्री बन्न पाउने व्यवस्था हुनुपर्ने बताएका थिए ।
संविधान संशोधन गरेर राष्ट्रिय सभाको सदस्यसमेत प्रधानमन्त्री बन्न पाउने व्यवस्था नहुन्जेल आफू राष्ट्रिय सभामा नजाने उनको अडान थियो ।
यद्यपी पछिल्लो समय उनी स्वयं संविधानको संशोधन नगरीकनै (राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री हुन पाउने व्यवस्था नहुँदै) राष्ट्रिय सभामा मनोनित हुन तयार भए ।
सुरुमा राष्ट्रिय सभामा जान तयार नदेखिए पनि आफूले भनेअनुसार संविधान नहुने पक्कापक्की भइसकेको अवस्थामा गौतम त्यसो नभइकनै राष्ट्रिय सभामा जान तयार भएका घटनाक्रमले देखाउँछ ।
सुरुमा उनलाई निर्वाचनका माध्यमबाट राष्ट्रिय सभामा लैजाने नेकपाको तयारी थियो । तर, गौतमले त्यसलाई अस्वीकार गरिदिएका थिए । तर, पछि उनी तयार भइसक्दा स्थिति पहिलेको जस्तो थिएन ।
उनलाई नियुक्तिका माध्यमबाट राष्ट्रिय सभामा लैजाने विषयमा नेकपामा सहमति जुट्न सकेन । जसका कारण सचिवालयले निर्णय गरेको भए पनि गौतमका सम्बन्धमा सरकारले तत्कालै निर्णय गरेन र यो विषय लम्बिरह्यो ।
पछि घटनाक्रमहरु विकसित हुँदै जाँदा नेकपाभित्र चुलिएको तीव्र विवादको फाइदा गौतमलाई पुग्यो । जसका कारण उनलाई कुनै न कुनै रुपमा चित्त बुझाउनु पर्ने स्थिति खडा भयो । त्यसैको परिणामस्वरुप गौतम राष्ट्रिय सभा सदस्यमा मनोनित भए ।
उनलाई सरकारले राष्ट्रिय सभामा मनोनित गर्ने निर्णय गरेपछि बिहीबार पद तथा गोपनीयताको सपथ खुवाइएको छ । यससँगै उनी राष्ट्रिय सभा सदस्य बनेका छन् ।
निर्वाचन लढेर हारेका तर नियुक्तिको माध्यमबाट सांसद बनेका गौतमले प्रतिक्रिया दिँदै राष्ट्रिय सभाको गरिमा र प्रतिष्ठालाई ध्यानमा राखेर काम गर्ने बताएका छन् ।
तर, कतिपयले भने प्रत्यक्ष निर्वाचन हारेको व्यक्ति नियुक्तिको माध्यमबाट राष्ट्रिय सभामा पुग्नुलाई नै कानुनी शासनमा सही नहुने र यस्ता कदमले राष्ट्रिय सभाको गरिमालाई बचाउन नसक्ने टिप्पणी गरिरहेका छन् ।