काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमण पुष्टि हुनेहरुको संख्या ३ करोड नाघेको छ ।
कोरोना भाइरसका सम्बन्धमा तथ्यांकीय जानकारी दिँदै आएको वर्ल्डोमिटरको यो समाचार तयार पार्दसम्मको तथ्यांक अनुसार विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या ३ करोड ३ लाख ३३ हजारभन्दा बढी छ ।
अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयले पनि संक्रमितहरुको संख्या ३ करोड नाघेको जनाएको छ।
वर्ल्डोमिटरको पछिल्लो तथ्यांक अनुसार विश्वभर कोरोना भाइरसका कारण ९ लाख पचास हजारभन्दा धेरैले ज्यान गुमाएका छन् ।
त्यस्तै गरी कोरोना भाइरसको संक्रमण जितेर निको हुनेको संख्या पनि २ करोड २० लाख २३ हजारभन्दा बढी पुगेको छ ।
सन् २०१९ को अन्त्यतिर चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसले अहिलेसम्म विश्वव्यापी महामारीको रुप लिइसकेको छ । यसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिका रहेको छ । अमेरिकामा धेरै सङ्क्रमण र मृत्यु भएको छ।
वर्ल्डोमिटरको तथ्यांक अनुसार अमेरिकामा हालसम्म ६८ लाखभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै त्यहा उक्त भाइरसका संक्रमितहरुमध्ये २ लाख २ हजारभन्दा बढीको मृत्यु भएको छ ।
दोस्रो स्थानमा रहेको भारतमा कुल ५२ लाख १२ हजारभन्दा बढी संक्रमित फेला परेका छन् भने भारतमा ८४ हजारभन्दा बढी कोरोना भाइरस संक्रमितहरुले ज्यान गुमाएका छन् ।
तेस्रो स्थानमा रहेको ब्राजिलमा ४४ लाख ५७ हजारभन्दा बढी संक्रमित र १ लाख ३५ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार कोरोनाभाइरसबाट हालसम्म सबैभन्दा नराम्ररी प्रभावित देशका रूपमा अमेरिका, भारत र ब्राजिल रहे पनि पछिल्ला हप्तामा युरोपमा बढ्दो क्रममा सङ्क्रमण देखिएको छ ।