काठमाडौं । कतारका अमिर (राजा) शेख तमिम विन हमाद अल थानी नेपालको दुई दिने राजकीय भ्रमणको क्रममा काठमाडौं आइपुगेका छन् ।
उनी मंगलबार दिउँसो काठमाडौं आइपुगेका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा अमिर शेख काठमाडौं आएका हुन् ।
अमिरको स्वागतका लागि राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति राम सहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', सभामुख देवराज घिमिरेलगायतले त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए ।
अमिर शेख बंगलादेशको राजकीय भ्रमण सम्पन्न गरी आज अपरान्ह विशेष विमानबाट काठमाडौं आइपुगेका हुन् । उनको स्वागतमा नेपालले भव्य तयारी गरेको थियो ।
काठमाडौंका सडकहरू सिँगारिएको थियो भने नेपाली सेनाको टुकडीले उनको सम्मानमा २१ तोपको सलामी दिएको थियो ।
कतारका अमिरले आजै साँझ राष्ट्रपति पौडेलसँग राष्ट्रपति कार्यालय शीतल निवासमा भेटवार्ता गरेका छन् । अमिरको सम्मानमा राष्ट्रपति पौडेलले राजकीय भोजको आयोजना गर्नेछन् ।
भ्रमणका क्रममा नेपाल र कतारबीच युवा तथा खेलकुद र शिक्षा तथा वैज्ञानिक अनुसन्धानलगायत विभिन्न क्षेत्रमा सहकार्यसम्बन्धी समझदारी हुने जनाइएको छ ।
शीतल निवासको गण्डकी हलमा सुरु भएको भेटवार्तामा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, सवारी व्यवस्थापनको जिम्मेवारीमा रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्तेतलगायत विशिष्ट पदाधिकारीहरू संलग्न छन् ।
कतारका अमिर अल थानी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै शीतल निवास पुगेका थिए ।
अमिर अल थानी र प्रधानमन्त्री प्रचण्डबीच बुधबार द्विपक्षीय वार्ता हुने कार्यक्रम छ ।