काठमाडौं । संयुक्त राज्य अमेरिकाले आइतबारदेखि दुईवटा चिनियाँ मिडिया एप प्रतिबन्ध लगाउने भएको छ । अमेरिकाले लोकप्रिय चिनियाँ एक टिकटक र विच्याटमाथि प्रतिबन्ध लगाउन लागेको हो ।
टिकटक र विच्याटमाथि प्रतिबन्ध लगाउनुपनर्ने कारणबारे भने अमेरिकाले देशको सम्प्रभूता, अखण्डता तथा सुरक्षाका लागि ती एपहरू पूर्वाग्रही भएको जनाएको छ ।
अमेरिकाको वाणिज्य मन्त्रालयले यी एपहरू अमेरिकाको एप स्टोरेजबाट हटाइने जानकारी दिएका छन् । अब अमेरिकीले यसलाई डाउनलोड गर्न पाउने छैनन् ।
टिकटक र विच्याटमाथिको प्रतिबन्ध राष्ट्रपति डोनाल्ड ट्रम्प कुनै सम्झौताका लागि राजी नभए रोकिने सम्भावना छैन ।
चिनियाँ एपहरू अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि खतरा बन्न सक्ने ट्रम्प प्रशासनको भनाई छ ।
यी कम्पनीले अमेरिकी प्रयोगकर्ताको व्यक्तिगत विवरण चीनलाई दिन सक्ने अमेरिकाको आरोप रहँदै आएको छ । यद्यपी चीन र चिनियाँ कम्पनीले यसलाई अस्वीकार गर्दै आइरहेका छन् ।
गत महिना ट्रम्पले टिकटक तथा विच्याटमाथि प्रतिबन्ध लगाउने एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए ।
जसअनुसार दुईवटै चिनियाँ कम्पनीको स्वामीत्व कुनै अमेरिकी कम्पनीलाई दिएर मात्र प्रतिबन्धबाट बच्न सम्भव छ ।
उता टिकटकले भने अमेरिकी वाणिज्य मन्त्रालयको आदेशबाट आफू निराश र असहमत भएको प्रतिक्रिया दिएको छ ।
कम्पनीले ट्रम्प प्रशासनको चिन्तालाई मध्यनजर गर्दै अभूतपूर्व र अतिरिक्त पारदर्शिताका लागि प्रतिबद्धता व्यक्त गरिसकेको उल्लेख गरेको छ ।
हामी अन्यायपूर्ण कार्यकारी आदेशलाई चुनौति दिनेछौं । यो आदेश गलत प्रकृयाबाट आएको छ । यसले अमेरिकी नागरिक तथा साना व्यवसायीको कारोबारमा समस्या बढ्छ, टिकटकले भनेको छ, टिकटक अमेरिकाका नागरिकका लागि आफ्नो आवाज उठाउने तथा रोजी रोटी दुवैको माध्यम बनेको थियो ।
त्यस्तै विच्याटको स्वामित्ववाला कम्पनीले पनि अमेरिकी प्रतिबन्धलाई दुर्भाग्यपूर्ण भनेको छ । यद्यपी अमेरिकी सरकारसँगको वार्तालाई जारी राख्न र यसको दीर्घकालीन समाधानका लागि आफू प्रयत्नशील रहने प्रतिक्रिया दिएको छ ।