काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोल तथा डिजेल र मट्टितेलको मूल्य बढाएको हो ।
मंगलबार साउन १ गतेदेखि लागू हुने गरी निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । सोमबार निमगले मूल्य वृद्धि गर्ने निर्णय लिएको हो ।
निगमले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँले वृद्धि गरेको हो ।
मूल्य बढेसँगै पहिलो, दोस्रो र तेस्रो वर्गमा पेट्रोलको मूल्य प्रतिलिटर क्रमशः १६८ रुपैयाँ ५० पैसा, १७० र एक सय ७१ तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर क्रमशः १५७ रुपैयाँ ५० पैसा, १५९ र १६० रुपैयाँ कायम भएको छ ।
पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगन्ज, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ तथा तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दीपायल रहेका छन् । निगम सञ्चालक समितिको बैठकले मूल्यवृद्धि गर्ने निर्णय गरेको हो ।
इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।