हामी सांसदहरूले शेयर बजारका कम्पनीको शेयर मूल्य तोक्ने, असल वा खराब कम्पनी छुट्याउने, बजारका लगानीकर्ताको नाम तोकेर टिप्पणी गर्ने र बजारलाई प्रभावित पार्ने गरी अभिव्यक्ति दिने काम गर्नु विल्कुलै उचित होइन । हामीले ऐन नियम बनाउने र त्यसको कार्यान्वयनबारे सरोकार मात्र राख्ने हो ।
केही सांसदबाट भएको अनुपयुक्त वक्तव्यबाजीप्रति खेद व्यक्त गर्दछु । तर, बजारमा भइरहेको सर्वसाधारणको लगानीलाई जोखिममा पार्ने गैरकानुनी गतिविधिहरू नियन्त्रण गर्न सरकार र नियमनकारी निकायहरू पनि उत्तिकै चनाखो हुनुपर्नेमा जोड दिन्छु ।
बजारको पुँजीकरण र देशको जीडीपीलाई लिएर भइरहेको टिकाटिप्पणी पनि पूरै अप्रासांगिक हो । हाम्रो बजारमा दैनिक कारोबारयोग्य शेयरको मूल्यको आधारमा हिसाब गर्दा झण्डै १७ खर्ब मात्र बजार पुँजीकरण रहेको देखिन्छ । बजारका राम्रा कम्पनीहरूको शेयरको मूल्य अझै धेरै सस्तो र आम सर्वसाधारण लगानीकर्ताले पाँच वर्षअगाडि किनेको मूल्यभन्दा धेरै कम्पनीको शेयर मूल्य तल रहेकोले अहिले आत्तिनुपर्ने गरी केही भएकै छैन भन्नेमा म सरोकारवाला सबैको ध्यानाकर्षण गराउँछु ।
सरकारले पुँजी बजारको सुधार र विस्तारका लागि धेरै कामहरु गर्नेतर्फ सक्रियता नदेखाएकाले अपेक्षाकृत रूपमा बजारको स्थायित्व कायम हुन नसकेकाले तत्काल त्यतातिर ध्यान दिन आग्रह गर्छु । खासगरी लामो समयदेखि धितोपत्र बोर्डको अध्यक्ष रिक्त रहँदा कयौँ कामहरू अवरुद्ध रही बजारको नियमनमै बाधा परेकाले तत्काल कुनै स्वार्थ समूहबाट प्रभावित नभएको सक्षम, योग्य र स्वच्छ व्यक्ति नियुक्त गर्न माग गर्दछु ।
नेपालको पूँजी बजारमा ६३ लाखभन्दा बढी सर्वसाधारणको प्रत्यक्ष संलग्नता रहेको अवस्थामा म तिनै आम सर्वसाधारण लगानीकर्ताको सदिच्छाले सांसद भएको समेत पृष्ठभूमिमा उभिएर सधैँ आम सर्वसाधारण लगानीकर्ताको हित र पुँजी बजारको विकास र विस्तारका लागि लडिरहने पुनः प्रण गर्दछु ।
साथै कसैको बहकाउमा नपरी जोखिमको अवस्था विचार गरेर आफ्नै अध्ययन, विश्लेषण र निर्णयले राम्रा कम्पनीहरूमा सुझबुझपूर्ण र आफ्नो स्वविवेक प्रयोग गर्न आम लगानीकर्ताहरूमा अपील गर्दछु ।
फेसबुकबाट ।