चितवन । लियोहरुका लागि दुईदिने समाचार लेखन तालिम सम्पन्न भएको छ ।
लियो क्लब अफ काठमाडौं हिमालयज पाटन र लियो क्लब अफ काठमाडौं जन्मभूमिको सयुक्त आयोजनामा जुममार्फत समाचार लेखन तालिम भएको हो ।
देशभरिका लियोहरुलाई समाचार लेख्न अभिप्रेरित गराउने र पत्रकारिताको आधारभूत ज्ञान दिने उदेश्यले रिजन ३ को विशेष पहलमा सो तालिम भएको हो ।
जयदेश डटकमका कार्यकारी सम्पादक अर्जुन पाख्रिनले प्रशिक्षण दिएका थिए । उनले समाचार रिपोर्टिङ, समाचार लेखन, समाचार तयार हुने तत्वहरु, समाचारको भाषा र सम्पादनको विषयमा प्रशिक्षण दिएका थिए ।
‘पत्रकारिता क्षेत्रमा धेरै विधाहरु हुन्छन् । यसमध्ये आफूलाई इच्छा भएको विषयमा धैर्यतासहित मेहनत गरियो भने पत्रकारले छिटै फड्को मार्न सकिन्छ,’ पाख्रिनले भने, ‘यसकारण पछिल्लो समय पत्रपत्रिका टेलिभिजनसँगै अनलाइन न्युज पोर्टलहर खुलेका छन् । राम्रो पत्रकारको अहिले पनि अभाव छ ।’
दुई सेसनमा भएको कार्यक्रमका सभाध्यक्ष लियो डिस्ट्रिक ३२५ बी २ रिजन ३ का रिजन संयोजक लियो प्रतीक लम्साल रहेका थिए ।
तालिम उद्घाटन समारोहमा प्रमुख अतिथि लियो जिल्ला परिषद ३२५ बी २ का जिल्ला अध्यक्ष कुबेर पाठक र जिल्ला परिषद्का पदाधिकारीहरु समेत सहभागी भएका थिए ।
लियो क्लब अफ काठमाडौं जन्मभूमिकी अध्यक्ष लियो कविता राईले सूचना र प्रविधिको विकाससँगै अनलाईन मिडिया फस्टाइरहेको सन्दर्भमा पत्रकारिताको ठूलो सम्भावना भएको बताइन् ।
समाचार लेखन तालिमले नयाँ अनुभव सिकाइएको बताउँदै उनले भनिन्,‘समाज परिर्वतनको अर्को पाटो पत्रकारिता हो । लियो साथीहरुले यस विषयमा क्षमता अभिवृद्धि गर्दै राष्ट्रिय सञ्चार माध्यममा प्रतिभा प्रस्तुत गर्नुपर्छ ।’
कार्यक्रममा लियो क्लव अफ काठमाडौं हिमालयज पाटनकी अध्यक्ष रेविका श्रेष्ठले समाचार लेखन तालिम लियोहरुका लागि पहिलो भएका कारण अझै धेरै विषय सिक्नु पर्ने बताइन । ‘समाचारको विषय सामान्य होइन रहेछ । हेर्दा सजिलै लाग्ने तर, व्यवहारमा सोचेजस्तो छैन,’ उनले भनिन,‘अब हामीलाई अर्को तालिम पनि आवश्यक छ । यसले समाचार लेखनमा थप उर्जा मिल्ने छ ।’
समापन भर्चुवल ग्रुपमा रिजन ३ का संयोजक लियो प्रतीक लम्सालले लियोहरुले विभिन्न सामाजिक कार्यहरु गरिरहेको बताए । तर, समाचार लेख्न नआएका कारण कतिपय कार्यक्रम ओझेलमा परेको लम्सालको भनाइ थियो ।
‘यसकारण पहिलो पटक समाचार लेखन तालिम आयोजना गरिएको हो । यो तालिम उपलब्धी मूलक भएको छ । अब लियोहरुले समाचार लेख्न सक्छन भन्ने मेरो विश्वास हो,’ उनले भने,‘लियोहरु परिवर्तनका संवाहक भएका कारण पत्रकारिताको ज्ञान हुँदा थप सहज हुन्छ ।’
दुई दिनको कार्यक्रममा ५० जना लियोहरु सहभागी भएका थिए ।