काठमाडौं । आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपचुनावका लागि २५ वटा राजनीतिक दल दर्ता भएका छन् ।
आयोगमा २६ दलले उपचुनाव प्रयोजनका लागि निवेदन दर्ता गराएकाम २५ दल दर्ता गरिएको आयोगका प्रवक्ता नारायण प्रसाद सापकोटाले जानकारी दिए ।
'दर्ता हुन आएका २६ राजनीतिक दलमध्ये आयोगको मिति २०८१/०६/२० को निर्णयअनुसार कानुनी रीत पूरा भएका,' सापकोटाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, '२५ (पच्चिस) राजनीतिक दलहरूलार्इ राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम १७ को उपनियम (४) बमोजिम दर्ता गरिएको व्यहोरा जानकारी गराइन्छ ।'
आयोगका अनुसार नेपाल मजदुर किसान पार्टी, मंगोल नेशनल अर्गनाइजेशन, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, नेपाल तथा नेपाल समाजवादी पार्टी आयोगमा दर्ता भएका छन् ।
त्यस्तै, नेपाल समाजवादी पार्टी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, राष्ट्रिय प्रजातन्त्र पार्टी, आम जनता पार्टी, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल तथा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) पनि आयोगमा दर्ता भएका छन् ।
उपचुनावका लागि राष्ट्रिय स्वतन्त्र पार्टी, समावेशी समाजवादी पार्टी नेपाल, हाम्रो नेपाली पार्टी, नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी लेनिनवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, नागरिक उन्मुक्ति पार्टी, नेशनल रिपब्लिक नेपाल र राष्ट्रिय जनता पार्टी नेपाल पनि दर्ता भएका छन् ।
आयोगका अनुसार नेपाली कांग्रेस (वी.पी.), राष्ट्रिय मातृभूमि पार्टी, जनमत पार्टी र नेपाली जनता दल पनि आयोगमा दर्ता भएका छन् ।