काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सौदाबाजीका लागि राष्ट्रियताका हितका प्रश्नमा कुनै सम्झौता नगरिने बताएका छन् ।
नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनद्वारा आज आयोजित ‘राष्ट्रिय सुरक्षा र विकासमा पूर्वसुरक्षाकर्मीहरूको भूमिका’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै ओलीले राष्ट्रियताका सवाललाई ध्यान दिएर भारतको नाकाबन्दी भएका बेला चीनसँग व्यापार र पारवहन सम्झौता गरिएको स्मरण गर्दै राष्ट्रप्रति जनताको निष्ठापूर्ण भाव उत्पन्न हुनु राष्ट्रिय सुरक्षाको किल्ला भएको बताए ।
‘अहिले अनेक नाममा राष्ट्रिय सुरक्षाको किल्लामा हमला गर्न खोजिएको छ । हामी अरुको हितमा असर नपार्ने र आफ्नो जायज हित नछाड्ने सङ्कल्पका साथ अघि बढ्का छौँ । सरकार प्राप्त गर्न वा सरकार टिकाउन राष्ट्रियताका विषयमा कुनै सौदाबाजी गर्ने जस्ता घिनलाग्दा काम हामीबाट हुन सक्दैन,’ ओलीले भने, ‘नाकाबन्दीको सामना गर्दा हामी सरकारबाट बाहिर पुग्यौँ होला तर हामी कुनै छलछाम नगरी जस्केलाबाट नभई निर्वाचनका माध्यमबाट सिंहदरबारको मूल ढोकाबाट सत्तामा आउँछौँ भनेको थियौँ र आयौँ पनि । एमाले र नेपाली काँग्रेससहित मिलेर बनेको यो सरकार राष्ट्रिय एकताको भावनाको रक्षा र देशको हितका लागि पूर्ण कटिबद्ध भएर काम गरिरहेका छ ।’
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले माटामुनि लुकाइएका खिया लागेका हतियारले अब काम नगर्ने भन्दै नेपाली समाजलाई झुठो प्रचार गरेर धम्की नदिन आग्रह गरे । ‘भाडामा खटाइएकाहरूले केपी ओलीको साख घट्यो भन्ने सक्छन् । सचेत जनतालाई थाहाँ छ कि हामी कति लोकप्रिय हौँ भन्ने । ओलीको साख घटेको भन्नेहरूले २०८४ को निर्वाचनमा हेरुन्,’ उनले भने ।
प्रधानमन्त्री ओलीले लोकतन्त्र भनेको छाडातन्त्र नभएको बताउँदै नेपाल लडेर बनेको र लडेर बचाएको राष्ट्र भएकाले सिंहदरबार वा बालुवाटार कब्जा गर्छौं, चुट्छौँ, मार्छौं भन्नु छाडातन्त्र भएकाले त्यस्ता क्रियाकलाप सैह्य नहुने बताए । राष्ट्रका लागि आवश्यक परे पूर्वसुरक्षाकर्मी एकता र अनुशासनका साथ खट्नुपर्ने र नयाँ पुस्तालाई प्रेरणा दिनुपर्ने उनको भनाइ छ ।
सामाजिक सञ्जालमा जथाभावी रूपमा प्रस्तुत हुनेहरूलाई उत्तरदायी बनाउने बाटोमा सरकार रहेको पनि ओलीको भनाइ छ । सहकारी अपचलनबारे संसदीय समितिको प्रतिवेदनलाई सरकारले कार्यान्वयन गरिरहेको उल्लेख गर्दै ओलीले अनुसन्धानका क्रममा रहेका व्यक्तिका पक्षमा अदालत परिसरमै उफ्री उफ्री कराउनु लोकतान्त्रिक मान्यतासंगत नभएको जिकिर गरे । आफूले कसैप्रति पूर्वाग्रह नराख्ने र न्यायिक निरुपणबाट हुने निष्कर्षलाई सबैले मान्नुपर्ने उनको भनाइ छ ।