काठमाडौं । संयुक्त राज्य अमेरिकाले आइतबारदेखि दुईवटा चिनियाँ मिडिया एप प्रतिबन्ध लगाउने निर्णय गरेपछि त्यससम्बन्धमा चीनले पनि प्रतिक्रिया दिएको छ ।
अमेरिकाले लोकप्रिय चिनियाँ एप टिकटक र विच्याटमाथि प्रतिबन्ध लगाएपछि चीनले त्यसप्रति विरोध जनाएको छ ।
टिकटक र विच्याटमाथि प्रतिबन्ध लगाउनुपनर्ने कारणबारे भने अमेरिकाले देशको सम्प्रभूता, अखण्डता तथा सुरक्षाका लागि ती एपहरू पूर्वाग्रही भएको जनाएको छ ।
तर चीनको विदेश मन्त्रालयका प्रवक्ताले त्यसलाई 'कुनै पनि प्रमाण नभएको अवस्थामा देशको शक्ति प्रयोग गरेर अनावश्यक रुपमा उक्त दुई वटा चिनियाँ व्यवसायमाथि प्रहार' गरिएको प्रतिक्रिया दिएका छन् ।
चिनियाँ एपहरू अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि खतरा बन्न सक्ने ट्रम्प प्रशासनको भनाई छ । यी कम्पनीले अमेरिकी प्रयोगकर्ताको व्यक्तिगत विवरण चीनलाई दिन सक्ने अमेरिकाको आरोप रहँदै आएको छ ।
सेप्टेम्बर १८ तारिखमा अमेरिकी वाणिज्य मन्त्रालयले अमेरिकामा वीच्याट र टिकटक खरिद गर्ने विषय निषेध गरेकोमा सोही दिन चीनको वाणिज्य मन्त्रालयका प्रवक्ताले त्यसबारे प्रतिक्रिया दिँदै चीनले कडा विरोध गरेको सिआरआईले जनाएको छ ।
अमेरिकाको यो निर्णयले सम्बन्धित व्यवसायको उचित अधिकार र सामान्य बजार व्यवस्थालाई हानि पुर्याएको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले जनाएका छन् ।
यसले अमेरिकी लगानी वातावरणमा अन्तर्राष्ट्रिय लगानीकर्ताको विश्वास र सामान्य अन्तर्राष्ट्रिय व्यापारिक व्यवस्थालाई ध्वस्त बनाउने चीनको प्रतिक्रिया छ ।
अमेरिकाले त्यसलाई निरन्तरता दिएमा आवश्यक कदम चालेर चिनियाँ व्यवसायको वैधानिक अधिकारको संरक्षण गर्ने चिनियाँ प्रतिक्रिया रहेको सिआरआईले जनाएको छ ।
गत महिना ट्रम्पले टिकटक तथा विच्याटमाथि प्रतिबन्ध लगाउने एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए ।
उता टिकटकले भने अमेरिकी वाणिज्य मन्त्रालयको आदेशबाट आफू निराश र असहमत भएको यसअघि नै प्रतिक्रिया दिइसकेको छ ।
यो आदेश अमेरिकी नागरिक तथा साना व्यवसायीको कारोबारमा समस्या बढ्ने तथा आवाज उठाउने तथा रोजी रोटी दुवैको माध्यममा समस्या आउने टिकटकले बताएको थियो ।
त्यस्तै विच्याटको स्वामित्ववाला कम्पनीले पनि अमेरिकी प्रतिबन्धलाई दुर्भाग्यपूर्ण भन्दै यसको दीर्घकालीन समाधानका लागि आफू प्रयत्नशील रहने प्रतिक्रिया दिएको थियो ।