सुनसरी । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले सरकारको असफलताका कारण मुलुकमा बेथिति मौलाइरहेको बताएका छन् । यस्तो अवस्थामा नेपाली कांग्रेस छड्के किनाराको साक्षी बनेको उनको टिप्पणी छ ।
१३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आज सुनसरीको इनरुवामा आजपा निकटको आम ट्रेड युनियन फेडरेसनले आयोजना गरेको सभालाई सम्बोधन गर्दै साहले यस्तो टिप्पणी गरेका हुन् ।
‘मुलुकमा बेथिति, भ्रष्टाचार, अनियमितता बढदै गइरहेको छ । प्रधानमन्त्रजी हरेक क्षेत्रमा असफल हुनुभएको छ र छड्के किनाराको साक्षी कांग्रेस हुनु दुःखद छ । आम जनताले परिवर्तन र निकास खोजेका छन्,’ साहले भने, ‘एउटा गभर्नर नियुक्त गर्न नसक्ने सरकारले देश कसरी चलाउछ ? सरकारले मुलुकलाई अन्योल बनाएको छ । यसरी मुलुक अगाडि बढन सक्दैन ।’
श्रमजिवि, मजदुर सहित आम जनताको पक्षमा काम नगरी वर्तमान सरकार बिचौलिया र भगौडा बर्गको सेवामा लागेको साहले आरोप लगाए भनाइ छ । विचौलिया र भगौडा वर्गको सेवा गरिरहेको सरकार विचौलियाकै सेटिङमा लागेकाले गभर्नर नियुक्तीमा ढिलाइ भइरहेको उनको आरोप छ ।
नेपालसहित विदेशमा श्रमजीवी मजदुरहरू विभिन्न समस्यामा तड्पिरहँदा पनि सरकार मौन बसेको साहको टिप्पणी छ । विदेशमा काम गरिरहेका नेपाली मजदुरहरूले पनि ट्रेड युनियनको हकअधिकार पाउनुपर्नेमा उनले जोड दिए ।
‘अहिलेको २१औँ शताब्दीमा दासताको नारकीय जिवनमा धकेल्न पाइन्छ ? स्थायी जागिरेले आफ्नो अधिकारका लागि संगठन निर्माण गर्न पाउने, ग्रुप बार्गेनिङ गर्न पाउने तर पराई देशमा गएका युवा मजदुरले बोल्न पनि नपाउने यो कहाँको न्याय हो ?’ साहले प्रश्न गरे ।
साहले नेपालको उधोगमा नेपालीले रोजगार नपाउने र विदेशीलाई रोजगार दिने काम आफूलाई अस्वीकार्य भएको बताए । पहिलो प्राथमिकता नेपाली मजदुरलाई नै दिनुपर्ने उनको भनाइ छ । ट्रेड युनियनको हकलाई स्वीकार नगर्ने देशमा नेपाली मजदुर पठाउन नहुने उनले बताए । ट्रेड युनियनको मान्यता नदिने देशमा नेपालीलाई किन पठाएको भन्दै उनले सरकारसँग प्रश्न गरे ।
यस्तै नेपालमा घरेलु कामदारको हकअधिकार पनि सुनिश्चित नभएको उनले बताए । नेपालमा काम गरिरहेका घरेलु कामदारको हितमा हुने गरी कानुन निर्माणमा सरकारले ढिलाई गर्न नहुने उनको भनाइ छ । यथाशीघ्र घरेलु कामदारको हितमा हुने गरी कानुन निर्माण गर्नुपर्ने उनले बताए ।