काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले सुकुम्बासीलाई खानेपानी रोकेको भन्दै आपत्ति जनाएका छन् । उनले दुई तिहाइको शक्तिशाली सरकारले सुकुम्बासीलाई खानेपानी किन रोकेको भन्दै प्रश्न गरे ?
बुधबार काठमाडौंको गैरीगाउँमा आम अव्यवस्थित बसोबास एवं सुकुम्बासी संघको विशेष बैठकलाई सम्बोधन गर्दै साहले भूमिहीन सुकुम्बासीहरूलाई अतिआवश्यक लालपुर्जा, खानेपानी, बिजुलीसहितका सेवासुविधा दिलाएरै छाड्ने बताए । त्यसका लागि जस्तोसुकै संघर्षका कार्यक्रम समेत गर्नबाट आफूहरू पछि नहट्ने उनको भनाइ छ ।
‘मुलुक अहिले संकटमा छ । श्रमजीवि, उत्पीडित अधिकारविहीनसहितका वर्गहरू एकजुट भएर मुलुकलाई जोगाउनुपर्ने जिम्मेवारी हाम्रो काँधमा,' साहले भने, 'सुकुम्बासी बस्तीमा शुद्ध खानेपानी नदिनु सरकारले मानवताविरुद्धको अपराध गर्दै छ ।'
'सुकुम्बासीसँग कर लिने, मत लिने तर खाने पानी नदिने, बिजुलीबत्ती नदिएर सरकारले मानवताविरुद्धको अपराध गर्दै छ,’ साहले भने, ‘बालुवाटार, ललिता निवास, पतञ्जलीको जग्गा आफ्नो नाममा गराउने, बेचेर खाने तर सुकुम्बासीलाई जग्गा नदिने सरकारका विरुद्धमा एकजुट भएर निर्णायक आन्दोलनमा जानका लागि जुटौँ ।’

त्यस्तै उनले सुकुम्बासी बस्तीमा शुद्ध खानेपानी नभएको बताउँदै खानेपानीको व्यवस्थापन कहिले हुने भन्दै प्रधानमन्त्रीलाई प्रश्न गरे । ‘अहिले दुईतिहाइको शक्तिशाली सरकार छ । प्रधानमन्त्री केपी शर्मा ओलीजी सरकारको नेतृत्व गर्दै हुनुहन्छ । तर यस्तो शक्तिशाली सरकारले सुकुम्बासी बस्तीमा खानेपानी किन रोक्नपर्यो ?’ साहले प्रश्न गरे ।
काम नगर्ने क्षेत्राधिकारविहीन भूमि आयोगको काम नभएको बताउँदै उनले आयोग कार्यकर्ता पाल्ने र जनता झुक्याउने मेलो बनेको टिप्पणी गरे । सरकारले पटक–पटक आयोग बनाउने तर सुकुम्बासीको समस्या समाधान नगरी आफ्ना कार्यकर्ता भर्ना गर्ने र राज्यको ढुकुटी सिध्याउने काम मात्रै गरेको उनले बताए ।
वास्तविक सुकुम्बासीलाई यथाशीघ्र लालपुर्जा, बिजुली, खानेपानीगायतका सेवासुविधा दिन उनले सरकारसँग आग्रह गरे । आफूहरूको माग सुनुवाइ नभए कडाभन्दा कडा आन्दोलनका लागि तयार रहन उनले आग्रह गरे ।