काठमाडौं । दोस्रो कार्यकालका लागि अमेरिकी राष्ट्रपतिको कार्यभार सम्हालेपछि डोनाल्ड ट्रम्पले गरेका एकपछि अर्को निर्णय विवादित बनेका छन् ।
ट्रम्पका कतिपय निर्णयहरूका विभिन्न राज्यले अदालतमा चुनौती पनि दिएका छन् । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसालाई ह्वाइट हाउसमा गरेको हप्कीदप्कीको निकै आलोचना भइरहेको छ ।
त्यस्तै ट्रम्पको विवादित बनेको अर्को निर्णय हो हार्वर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थीलाई निशेध गर्नु । बिहीबार ट्रम्प प्रशासनले हार्वर्डमा विदेशी विद्यार्थीलाई भर्ना हुनबाट रोक्ने निर्णय गर्यो । यसका साथै अहिले अध्ययनरत विदेशी विद्यार्थीहरूलाई अर्को विश्वविद्यालयमा ट्रन्सफर हुन भनेको छ । अन्यथा उनीहरूको कानुनी वैधता सकिनेछ ।
चीनले ट्रम्पको यो कदमको आलोचना गरेको छ । हार्वर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थीमाथि प्रतिबन्ध लगाउँदा त्यसले अमेरिकालाई नै घाटा हुने चीनले जनाएको छ । यसले अमेरिकाको अन्तर्राष्ट्रिय प्रतिष्ठामा पनि क्षति पुग्ने चीनले जनाएको छ ।
ट्रम्प प्रशासनको यो कदमको चिनियाँ मिडियाहरूमा पनि निकै चर्चा भएकव थियो । यसै बारेमा चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले प्रतिक्रिया दिएकी छन् । बेइजिङमा आयोजित एक प्रेस कन्फ्रेन्सका क्रममा निङले उक्त प्रतिक्रिया दिएकी हुन् ।
उनले अमेरिकासँगको शैक्षणिक सहयोग पारस्परिक रूपले लाभदायक रहेको बताइन् । साथै यसलाई राजनीतिकरण गर्ने कार्यको चीनले विरोध गर्ने पनि उल्लेख गरिन् । 'अमेरिकाको यो कदमले केवल उसको आफ्नो छवि र अन्तर्राष्ट्रिय विश्वसनीयतामा नोक्सान पुर्याउँछ,' निङले भनिन् ।
यसका साथै उनले चीनले विदेशमा अध्ययनरत चिनियाँ विद्यार्थी तथा स्कलर्सहरूको अधिकार र हितको रक्षा दृढतापूर्वक गर्नेमा पनि जोड दिइन् ।