ललितपुर । चक्रपथको कलङ्की–कोटेश्वर खण्डको ग्वार्को फ्लाइओभरको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले फ्लाईओभर निर्माण भएर उद्घाटन हुनु खुसीको कुरा भएको बताएका छन् ।
नवनिर्मित फ्लाइओभरको उद्घाटनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले कार्यक्रमको आयोजना गरेको थियो ।
इञ्जिनीयरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन (इपिसी) ढाँचामा १७ करोड छ लाख ८८ हजारमा आशिष समानान्तर रेलिगेर जेभीद्वारा निर्माण भएको यो फ्लाइओभर नेपालकै पहिलो हो ।
कुल पाँच सय मिटर अप्रोच सडक रहेको यसमा ३५ मिटर स्पानको ४ लेन पुल निर्माण भएको छ । ग्वार्को चोकको ट्राफिक जामलाई हटाउन २०७८ सालमा यसको निर्माण आरम्भ भएको थियो ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले यस प्रकारको पहिलो फ्लाइओभर निर्माण भई उद्घाटन हुन खुसीको कुरा हो भन्दै अब ग्वार्कोमा सवारी जामको समस्या समाधान भएको बताए । उनले सरकारले बहुआयामिक र चौतर्फी ढंगले विकास अगाडि बढाएकाले यसमा सबैको साथ रहने विश्वास व्यक्त गरे ।
'हामी विकासको बाटोमा लगातार अगाडि बढिरहेका छौँ । हिजो दैलेखमा नेपाललाई ५० वर्ष पुग्ने मिथेन ग्यास रहेको प्रमाणित भयो,' ओलीले भने, 'तीन वटा कुवामध्ये एउटा कुवाबाट त्यति ग्यास पैदा हुन्छ ।'
अब सामाजिक र प्रशासनिक सुधार गरेर देशलाई अघि बढाउने उनको भनाइ थियो । 'अरु खनिजको उत्खनन् गर्नेछौँ । कृषिको आधुनिकीकरण गर्नेछौँ । नयाँ उद्योग स्थापना, सामाजिक र प्रशासनिक सुधार गरेर देशलाई अगाडि बढाउनेछौँ,' ओलीले भने ।