काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाममा पठाइएको विष भरिएको एक पार्सल अमेरिकी प्रहरीले नियन्त्रणमा लिएको छ ।
उक्त प्याकेटमा रिसिन नामक विष रहेको थियो । त्यसको पुष्टिका लागि दुईपटक परीक्षण गरिएको अमेरिकी अधिकारीहरूले बताएका छन् ।
अमेरिकी प्रहरीलाई उधृत गर्दै अमेरिकी समाचार संस्था सिएनएनले आफ्नो अनलाइन संस्करणमा यो समाचार प्रकाशित गरेको छ ।
खासमा अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउस पठाइएका प्रत्येक चिठी या पार्सलको जाँच हुन्छ र त्यो जाँचमा शंकास्पद अवस्था नदेखिएमा मात्र त्यसलाई ह्वाइट हाउसमा पठाइन्छ ।
सोही नियमित परीक्षणका क्रममा उक्त विषयुक्त पार्सल अमेरिकी प्रहरीले फेला पारेको जनाइएको छ ।
अमेरिकाका एक अधिकारीले उक्त प्याकेज सम्भवतः क्यानडाबाट पठाइएको हुनसक्ने आशंका व्यक्त गरेका छन् । तर, यसको पुष्टि भइसकेको छैन । र, अनुसन्धान अघि बढेको छ ।
अमेरिकाको फेडरल ब्युरे अफ इन्भेस्टिगेसन (एफबिअई)ले सो सम्बन्धमा सूक्ष्म रूपमा अनुसन्धान गरिरहेको छ ।
एफबिअईका अधिकारीले सिएनएनलाई एफबिआई लगायतले घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको बताएका छन् । र, तत्कालका लागि कुनै खतरा छैन ।
रिसिन खतरनाक तत्व हो । यसको प्रयोग आतंकवादी हमलाका लागि प्रयोग भइसकेको छ ।