काठमाडौं । रुस युक्रेनबीच जारी युद्धका क्रममा युक्रेनलाई लिएर अमेरिका र युरोपको रणनीतिमा परिवर्तन देखिएको छ । पछिल्लो समय अमेरिकाले युक्रेनलाई सहयोग घटाएको छ भने युरोपले बढाएको छ ।
अमेरिकाले घटाएको सहायता युरोपबाट पूर्ति गर्ने प्रयास भइरहेको छ, तर त्यो आंशिक मात्र भएको रिपोर्टहरू सार्वजनिक भएका छन् ।
रुसी राष्ट्रपति भोलोदोमिर जेलेन्स्की अन्तर्राष्ट्रिय समुदायहरूले रुस र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युद्ध रोक्न दबाब बढाउन् भन्ने चाहन्छन् । त्यसका लागि अमेरिका र युरोपले रुसमाथि ‘सख्त’ रबैया अपनाउनुपर्ने उनको भनाइ छ ।
तर, जेलेन्स्कीले चाहेको जस्तै गरी अमेरिका अघि बढेन । बरु अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संसारले देख्ने गरी ह्वाइटहाउसमा युक्रेनी राष्ट्रपतिलाई हप्कीदप्की गरे । यो परिघटनाले अमेरिकामा ट्रम्पको पुनरोदयसँगै युक्रेन मामिलामा पुटिनको हात माथि परेको विश्लेषण गर्नेहरूलाई थप बल पुग्यो ।
ट्रम्पले आफ्ना पूर्ववर्ति अमेरिकी राष्ट्रपति जो बाइडेनले जस्तै गरी रुसमाथि कडा रबैया अपनाएका छैनन् । जसका कारण रुसको हात अहिले माथि परेको धेरैले विश्लेषण गरेका छन् ।
पछिल्लो समय सार्वजनिक भएको एक रिपोर्टमा पुटिन सिंगो युक्रेन रुसमा गाभ्न चाहन्छन् भन्ने उल्लेख छ । सिंगो युक्रेनलाई रुसमा गाभ्ने पुटिनको महत्त्वाकांक्षाका बीच युरोपेली युनियनले भने युक्रेनलाई दिँदै आएको सहायता बढाएका छन् ।
नेटोका महासचिव मार्क रुटका अनुसार युरोपेली मुलुकहरूले युक्रेनलाई दिइँदै आएको सहायता बढाएका हुन् । नेटो शिखर सम्मेलनअघि रुटले भनेका थिए- युरोपेली र क्यानडियनहरूले यस वर्ष युक्रेनलाई ३५ अर्ब डलरको सैन्य सहायता दिने प्रतिबद्धता जनाएका छन् ।
अघि एक वर्षभरीमा यी देशले युक्रेनलाई ५० अर्ब डलरभन्दा बढीको सहायता दिएका थिए । जबकी यसपटक आधा वर्षमै ३५ अर्ब डलरभन्दा बढीको सहायताको प्रतिबद्धता आएको छ । रुटले कतिपयले यस्तो सहायता ४० अर्ब डलरको हाराहारीमा पुगेको बताएको पनि उल्लेख गरेका छन् ।
यसले ट्रम्प प्रशासनले हालसम्म सैन्य सहायताको प्रस्ताव नगरेको कमीलाई युरोपेली नेताहरूको प्रतिबद्धताले पूरा गर्ने अपेक्षा गरिएको छ तर, त्यो आंसिक मात्र हुनेछ ।
त्यसो त अमेरिकी राष्ट्रपतिको ओभल अफिसमा ट्रम्प र जेलेन्स्कीबीच भनाभन भएयता धेरै परिवर्तनहरू आइसकेका छन् ।
पछिल्लोपटक जेलेन्स्कीले ट्रम्पलाई हेगमा भेटेका थिए । जहाँ उनले रुसी मिसाइल र ड्रोन हमला रोक्न युक्रेनलाई आवश्यक रक्षा प्रणाली खरिदको प्रस्ताव गरेका थिए । यद्यपि, ट्रम्पले यस विषयमा जेलेन्स्कीलाई प्रष्ट रूपमा आस्वासन भने दिएको देखिँदैन ।
ट्रम्पले पत्रकार सम्मेलनमा यसबारे भनेका छन्- हामी युक्रेनलाई त्यस्ता सामग्रीहरू उपलब्ध गराउन सक्छौँ कि भनेर हेर्नेछौँ । तर, तिनीहरू पाउन निकै गाह्रो छ । हामीलाई पनि त्यसको आवश्यकता छ र हामीले इजरायललाई पनि दिइरहेका छौँ ।
त्यसो त अमेरिकालगायतका देशहरू रुस र युक्रेनबीच युद्धविराम गराउन प्रयासरत छन् । तर, रुसले त्यसका लागि युक्रेनका सहयोगीहरूले युक्रेनलाई गरिएको हतियारको आपूर्ति रोक्नुपर्ने सर्त राखेको छ । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले शनिबार यो प्रतिबद्धता पुनः दोहोर्याएका छन् ।
पुटिन भने युक्रेनलाई रुसमा बिलय गर्ने अडानबाट दायाबाया भएका देखिँदैनन् । उनले भनेका छन्- मैले धेरैपटक भनेको छु वास्तवमा रुसी र युक्रेनी मानिसहरू वास्तवमा एक राष्ट्र हुन् । यस अर्थमा सम्पूर्ण युक्रेन हाम्रो हो ।
रुसी सैनिकले नियन्त्रण कायम गरेको क्षेत्र रुसको हुने क्रेमलिनको तर्क छ । ‘जहाँ रुसी सिपाहीले पाइला टेक्छ त्यो हाम्रो हो,’ क्रेमलिनले भन्ने गरेको छ ।
तर, किएभ प्रशासन आफ्नो भूमि छाड्न राजी देखिएको छैन । उ, युरोपलेली संघ र अमेरिकाको सहयोगमा क्रेमलिनलाई रोक्ने प्रयासमा छ । जसमा उसले केही हदसम्म सफलता पाएको पनि देखिन्छ ।
कतिपयले रुस र युक्रेनबीचको यो युद्ध यतिको समय लम्बिनुलाई पनि त्यसको उदाहरणका रूपमा प्रस्तुत गर्ने गरेका छन् । तर, त्यतिले मात्र क्रेमलिनको आक्रामकता रोक्न नसक्ने, खासगरी त्यति बेला जतिबेला अमेरिका उनीहरूको पक्षमा मुखर भएर आएको छैन, मा भने उनीहरू पनि विश्वस्त देखिएका छन्