काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत विचौलियाहरूको स्वार्थमा नीति ल्याएको बताएका छन् ।
पार्टी सम्वद्ध नेपाल उद्योग व्यापार महासंघको सचिवालय बैठक तथा अन्तरक्रियात्मक प्रशिक्षण कार्यक्रमलाई शनिबार भक्तपुरमा सम्बोधन गर्दै पुनले रड बनाउन प्रयोग हुने स्पन्ज आइरन र तार जाली उद्योगका लागि आर्थिक चलखेलका आधारमा कर नीति ल्याइएको बताए ।
सत्तानिकट अमुक स्वार्थ समूहको फाइदाका लागि ल्याइएको नीतिका कारण अर्बौं लगानी गरेका अरु व्यवसायीको व्यवसाय धरापमा पर्ने र हजारौँको रोजगारी गुम्ने अवस्था आएको उनको भनाइ थियो ।
‘स्पन्ज आइरनमा लगाइँदै आइको करलाई १ प्रतिशत झारिएको छ । अर्को थरिलाई ५ प्रतिशत कर लगाइएको छ । यसरी त उद्योग चल्दैन । भएको रोजगारी पनि गुम्छ’, पुनले भने ।
उनले कानुन बनाउनेदेखि बजेट निर्माण र ठेक्कापट्टामा समेत विचौलियाकरण भएको भन्दै यो स्थितिको अन्त्य नगरी मुलुकमा राष्ट्रिय पुँजी निर्माण सम्भव नहुने उल्लेख गरे ।
‘विचौलियाको स्वार्थमा राज्यका निकायले कानुन बनाउने कुराले समाजवादको आधार निर्माण गर्दैन’, पुनले भने, ‘ राष्ट्रिय पुँजी निर्माण गर्ने र प्रतिस्पर्धी वातावरण बनाएर मात्र समाजवादको अधार तयार पार्न सकिन्छ ।’
त्यसका लागि सरकार र पार्टीहरू ‘रुल अफ ल’ को सीमामा बस्नुपर्ने उनको भनाइ थियो । पुनले राज्यलाई दलाल पुँजीपतिको घेराबाट बाहिर निकाल्ने प्रयास गर्दा आफ्ना अध्यक्ष प्रचण्ड नेतृत्वको सरकार ढालिएको प्रसंग दोहोर्याए ।
‘दलाल पुँजीपतिको घेराबाट राज्यलाई बाहिर ल्याउनुपर्छ भन्दा स्वार्थ समूहले दुई ठूला पार्टी कांग्रेस र एमालेलाई मिलाइदियो’, पुनले भने ।
पूर्वअर्थमन्त्रीसमेत रहेका पुनले कृषि, जलविद्युत, सूचना प्रविधि र उत्पादनमूलक उद्योग आदिमा लगानी प्रवर्द्धन गर्न सके मुलुकमा राष्ट्रिय पुँजी निर्माण हुने औँल्याए ।
फरक प्रसंगमा उनले नेपालका दुईहरू चीन विश्वको देश्रो र भारत तेश्रो ठूलो अर्थतन्त्र बन्दै गरेकाले त्यसको प्रत्यक्ष लाभ नेपालले लिन सक्नुपर्नेमा जोड दिए । त्यसका लागि एकतिर मात्र फर्कने परम्परागत नीतिबाट माथि उठेर उत्तर–दक्षिण समदूरीको सम्बन्ध विकासमा जोड दिनुपर्ने पुनले औँल्याए ‘नेपालले उत्तर र दक्षिणको विकासको फाइदा लिनुपर्छ । त्यसैले हामीले हाम्रो सरका भएको बेलामा उत्तर–दक्षिण करिडोरको अवधारणा ल्याएरु कार्यान्वयन गरेका हौँ’, उनले भने ।