काठमाडौं । अमेरिकाको न्युयोर्क शहरको एक जना मेयरका उम्मेदवारको विषयलाई लिएर अहिले भारतलगायतमा सामाजिक सञ्चालहरूमा बहस भइरहेको छ ।
न्युयोर्कको मेयरका लागि जोहरान ममदानी न्युयोर्कको मेयरका लागि डेमोक्रेटिक पार्टीबाट उम्मेदवार बन्ने लगभग तय भएको छ । उनले डेमोक्रेटिकबाट मेयरको उम्मेदवार बन्ने क्रममा प्राइमरी इलेक्सनमा पूर्वगभर्नर एन्ड्र्यु कुओमोलाई पराजित गरेका हुन् । यद्यपि निर्वाचनको अन्तिम परिणाम आइसकेको छैन ।
तर, पनि कुओमाले ममदानीलाई बधाई दिँदै आफ्नो पराजय स्वीकारिसकेका छन् । अन्तिम नतिजा नआइसके पनि ममदानीले प्रस्ट अग्रता लिएकाले प्राइमरीमा उनको जित हुने निश्चित जस्तै देखिएको छ । सोही कारण पनि उनको चर्चा चुलिएको हो ।
प्राइमरी जित्दै पार्टीबाट मेयरको उम्मेदवार बनेका ममदानीलाई निकै बलियो उम्मेदवारको रूपमा हेरिएको छ । यही नोभेम्बरमा न्युयोर्कको मेयरको चुनाव हुँदै छ ।
यदि उक्त चुनावमा पनि जित हासिल गर्न ममदानी सफल भएमा उनी न्युयोर्क टाउनको इतिहासमा पहिलो मुस्लिम भारतीय मूलका मेयर हुनेछन् ।
भारतीय मूलका भए पनि ममदानीको परिवार भारतबाट युगाण्डा हुँदै अमेरिका पुगेको हो । ममदानीको जन्म पनि युगाण्डामा नै भएको हो । उनको जन्म सन् १९९१ को अक्टोबर १८ मा युगाण्डाको कम्पालामा भएको हो ।
ममदानीको जन्म युगाण्डामा भए पनि उनका माता-पिता दुवै भारतीय हुन् । उनकी आमा मिरा नायर र बाबु महमुद ममदानी दुवै भारतीय मूलका हुन् । उनका बाबु पन्जाबी हुन् ।
मीरा नायर प्रसिद्ध भारतीय-अमेरिकी फिल्म निर्माता हुन् भने बाबु महमुद प्राध्यापक हुन् । जोहरान ७ वर्षको हुँदा ममदानी परिवार युगाण्डा छाडेर अमेरिकामा ‘सिफ्ट’ भएको थियो ।
ममदानीसँगै अहिले उनकी पत्नी २७ वर्षीया रमा दुवाजी पनि चर्चामा छिन् । दुवाजी मल्टिमिडिया आर्टिस्ट हुन् । दुवाजी एक सिरियाली अमेरिकी एनिमेटर तथा चित्रकार हुन् । मिडिया रिपोर्ट्सका अनुसार यी दुईको भेटचाहिँ डेटिङ एप ‘हिन्ज’ मार्फत भएको थियो ।
सन् २०१८ मा अमेरिकी नागरिकता प्राप्त गरेका ममदानी सन् २०२० मा न्युयोर्क स्टेट एसेम्बलीमा निर्वाचित भएका थिए । यससँगै उनी न्युयोर्क राज्य विधानसभामा सेवा गर्ने पहिलो दक्षिण एसियाली व्यक्ति, पहिलो युगाण्डाली र तेस्रो मुस्लिम भएका थिए ।