काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायुजन्य जोखिमलाई कम गर्न यसबाट प्रभावित राष्ट्रहरूका बीचमा दरिलो सहकार्य आवश्यक रहेको बताएकी छन् ।
इटालीको रोममा जारी राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनको ४४औँ महासभाअन्तर्गत आज आयोजित अतिकम विकसित राष्ट्र तथा भूपरिवेष्ठित र साना टापु राष्ट्रहरूसँग सम्बन्धित उच्चस्तरीय सत्रलाई सम्बोधन गर्दै उनले जलवायुजन्य जोखिमलाई कम गर्ने योजनामा दरिलो सहकार्यका लागि अब ढिला गर्न नहुने बताइन् ।
उनले भनिन्, ‘अतिकम विकसित, भूपरिवेष्ठित र साना टापु राष्ट्रहरू जलवायु परिवर्तनको ठूलो जोखिममा परिरहेका छन् । यसले ती देशमा कृषि उत्पादन र जिवीकोपार्जनमा समेत नराम्रोसँग असर गरिरहेको छ । आफ्ना एजेण्डामार्फत विश्वमा सहकार्य गर्न नेपालले हालै सगरमाथा संवाद सम्पन्न गरेको छ । आगामी दिनमा सबै राष्ट्रबीच साझा एजेण्डासहित सहकार्य जरुरी छ ।‘
परराष्ट्रमन्त्री राणाले हिमाली राष्ट्रहरूका लागि जलवायु अनुकूलन वित्तीय सहयोग, प्रारम्भिक चेतावनी प्रणाली र ग्रामीण पूर्वाधारहरूको विकास आवश्यक रहेकोमा पनि जोड दिइन् । जलवायुजन्य जोखिमसँग जुध्न सर्वसुलभ र समावेशी उपायसहित अन्तर्राष्ट्रिय लगानी र क्षमता विकासका काम अपरिहार्य रहेको उनले बताइन् ।
‘प्रविधि, सहकार्य र ऐक्यबद्धताले मात्र सम्भावना र उपलब्धि बीचको खाडललाई पुर्न सक्नेछ । नेपालले दक्षिण–दक्षिण र उत्तर–दक्षिण सहयोग प्रवद्र्धन, प्रविधि स्थानान्तरण, बजारमा विस्तार तथा वित्तीय स्रोतमा पहुँचका लागि सदैव आग्रह गर्दै आएको छ,’ उनले भनिन् ।