काठमाडौं । विद्यालय शिक्षा विधेयक पारित हुन ढिलाइ भइरहँदा नेपाल शिक्षक महासंघले आपत्ति जनाएको छ । यसका साथै महासंघले पुनः आन्दोलन गर्ने चेतावनी पनि दिएको छ ।
यसअघि सरकार र शिक्षक महासंघबीच असार १५ गतेसम्म प्रतिनिधिसभाबाट विद्यालय शिक्षा विधेयक पारित गराउने सहमति भएको थियो । तर, आजसम्म पनि विधेयक प्रतिनिधिसभामै नपुगेपछि महासंघले आपत्ति जनाएको हो ।
सोमबार महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले संयुक्त विज्ञप्ति जारी गर्दै विधेयकमा कुनै विलम्ब र षड्यन्त्र भए तुरुन्तै आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका छन् ।
‘सहमतिमा नेपाल शिक्षक महासङ्घसँग भएका विगतका सहमतिलाई सम्बोधन हुने गरी असार १५ गते भित्र विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभाबाट पारित गर्ने भन्ने प्रतिबद्धता हस्ताक्षर भएको थियो,’ विज्ञप्तिमा भनिएको छ, ‘तर सो प्रतिबद्धता अनुरुप २०८२ असार १५ गतेसम्म पनि विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभामा पेश भएको छैन । यसबाट आम नेपाली शिक्षक-कर्मचारी सशंकित र आक्रोशित भएका छन् ।’
शिक्षकहरूले २९ दिनसम्म काठमाडौं केन्द्रित आन्दोलन गरेपछि सरकारले शिक्षक महासंघसँग ९ बुँदे सहमति गरेको थियो । जसमा असार १५ गतेसम्म शिक्षा विधेयक पारित गर्ने बताइएको थियो ।
तर, सो सहमतिअनुसार विधेयक अघि नबढेपछि महासंघले आपत्ति जनाएको हो । उक्त सहमतिसहितको प्रतिबद्धता पत्रमा नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, एमालेका मुख्य सचेतक महेश बर्तौला र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले हस्ताक्षर गरेका थिए ।

