काठमाडौं । चिनिया मिडिया एप विच्याटमाथि प्रतिबन्ध लगाउने अमेरिकी निर्णयलाई त्यहाँस्थित एक अदालतले रोकिदिएको छ ।
सन्देश आदानप्रदान तथा भुक्तानीका लागि प्रयोग गरिने चिनियाँ एप वीच्याटमाथि प्रतिबन्ध लगाउने अमेरिकी सरकारको प्रयासलाई त्यहाँस्थित एक अदालतले रोकिदिएको हो ।
अमेरिकी म्याजिस्ट्रेट न्यायाधीश लरेल बीलरले उक्त प्रतिबन्धले वाक स्वतन्त्रताको प्रत्याभूति दिलाएको संविधानको पहिलो संशोधनसँग सम्बन्धित विषयहरूबारे गम्भीर प्रश्न उत्पन्न भएको बताएकी छन् ।
अमेरिकाको वाणिज्य मन्त्रालयले आइतवाबाट त्यहाँको एप स्टोरमा वीच्याटमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको थियो ।
ट्रम्प प्रशासनले उक्त एपले आफ्नो देशको राष्ट्रिय सुरक्षामा खतरा पारेको आरोप लगाएको छ । वीच्याटले प्रयोगकर्ताहरूको डेटा चिनियाँ सरकारलाई उपलब्ध गराउन उसको भनाइ छ ।
तर चीन र वीच्याट दुवैले उक्त दाबीको खण्डन गरेका छन् । विच्याट बनाउने कम्पनी टेन्सेन्टले यसअघि अमेरिकी प्रतिबन्धलाई दुर्भाग्यपूर्ण भनेको थियो ।
प्रतिबन्ध गरिने सूचीमा रहेको अर्को चिनियाँ एप टिकटक र अमेरिकी कम्पनी ओरकल अनि वाल्मार्टसँग अमेरिकामा सञ्चालनका लागि सम्झौता भएको केही समयपछि अदालतको त्यस्तो फैसला आएको हो।
वीच्याट के हो ?
वीच्याटको स्थापना सन् २०११ मा भएको हो । यसलाई विभिन्न रूपमा प्रयोग गर्न सकिन्छ ।
प्रयोगकर्ताहरूले एपबाट कुराकानी गर्नका साथै मोबाइलबाटै भुक्तानी दिन र अन्य स्थानीय सेवा प्रयोग गर्न सक्छन् ।
चीनमा यसलाई एप फर एभ्रीथिङका रूपमा व्याख्या गरिएको छ र यसका एक अर्बभन्दा बढी मासिक प्रयोगकर्ता छन् ।