काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पर्वतारोही अङरिता शेर्पाको कीर्तिमानी सदैव स्मरणीय रहने प्रतिक्रिया दिएका छन् ।
'हिमचितुव' नमले समेत प्रख्यात रहेका शेर्पाको निधनप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
'बिनाअक्सिजन १० पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम गर्नु भएका आङरिता शेर्पाको निधनले अत्यन्त दुःखित तुल्याएको छ,' ओलीले भनेका छन्, 'यस दुःखद् घडीमा उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै शोकसन्तप्त परिवार र शुभेच्छुकहरुप्रति गहिरो समवेदना ब्यक्त गर्दछु । उहाँको कीर्तिमानी सदास्मरणीय रहने छ ।'
कीर्तिमानी आराेही आङरिता शेर्पाको निधन
काठमाडौं । 'हिमचितुवा’ नमले समेत चिनिने कीर्तिमानी पर्वतारोही आङरिता शेर्पाको निधन भएको छ ।
अक्सिजनबिना सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम गरेका शेर्पाको आज विहान उनको आफ्नै निवास काठमाडौँको जोरपाटीमा निधन भएको हो ।
७२ वर्षिय शेर्पा सोलुखुम्बुको थामेमा जन्मिएका थिए । उनको पार्थिव शरीर अहिले शेर्पा गुम्बामा लैजाने तयारी भइरहेको छ ।
उनको बुधबार बौद्धधर्मानुसार दाहसंस्कार गर्ने तयारी भएको छ । सन् १९८३ देखि सगरमाथाको आरोहण शुरु गरेका शेर्पाले सन् १९९६ मा विनाअक्सिजन सगरमाथा आरोहण गरेका थिए ।
उनले सगरमाथा मात्र नभई पाकिस्तानको माउन्ट केटु तथा नेपालका चोयु, मनास्लु, ल्होत्से, अन्नपूर्ण, धौलागिरिलगायत दर्जनौँ हिमालको सफल आरोहयण गरेका थिए ।