काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड- १९) का १ हजार १ सय ५४ जना नयाँ संक्रमितहरू थपिएका छन् । यससँगै नेपालमा कुल संक्रमितको संख्या ६४ हजार १ सय २२ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १ हजार ५ जनाले कोरोना भाइरस जितेका छन् । यससँगै नेपालमा कुल ४६ हजार २ सय ३३ जनाले कोरोना भाइरसको संक्रमण जितेका छन् ।
२४ घण्टामा १६ जनाको मृत्यु
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६ जना कोरोना भाइरसका संक्रमितहरूको मृत्यु भएको छ । यससँगै नेपालमा कुल मृतकको संख्या ४ सय २७ पुगेको छ ।
मृत्यु हुनेमा महिला ३ र पुरूष १३ जना रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार झापामा १, सुनसरीमा १, पर्सामा १, भक्तपुरमा २, काठमाडौंमा २, मकवानपुरमा २, ललितपुरमा २, चितवनमा १, दोलखामा १, रूपन्देहीमा १ र बाँकेमा २ गरी कुल १६ जना संक्रमितको मृत्यु भएको छ ।
उपत्यकामा थपिए ६७४ नयाँ संक्रमित
मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६ सय ७४ जना नयाँ संक्रमितहरू थपिएका छन् । काठमाडौमा ५ सय ३८, भक्तपुरमा ७४ र ललितपुरमा ६२ जना नयाँ संक्रमितहरू थपिएका हुन् ।
८ जिल्लामा ५ सयभन्दा बढी संक्रमित
मन्त्रालयले ५ सयजना भन्दा बढी संक्रमितहरू रहेको जिल्ला ८ वटा रहेको जानकारी दिएको छ । मोरङ, सिराहा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर तथा रूपन्देहीमा ५ सयजनाभन्दा बढी संक्रमितहरू छन् ।
त्यस्तै सोलुखुम्बु, रसुवा, म्याग्दी, मुस्ताङ, मुगु, डोल्पा र हुम्लामा हाल कुनै संक्रमित नरहेको पनि मन्त्रालयले जनाएको छ ।