काठमाडौं । नेपाल प्रहरीले एकै दिन ७३ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार स्याङ्जा र तनहु जिल्लाबाट उनीहरूलाई पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार एकैदिन स्याङ्जाबाट ४८ र तनहुँबाट २५ गरी ७३ जना फरार प्रतिवादी पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जा तथा मातहत प्रहरी कार्यालयहरूबाट खटिएको टोलीले कर्तव्यज्यान, हाडनाता करणी, लागूऔषध, सवारी ज्यान, चेक अनादर, अंशवण्डा, सम्बन्ध विच्छेद, कुटपिट लुटपाट लगायतका बिभिन्न मुद्दामा फरार रहेका ४८ जना प्रतिवादीहरूलाई पक्राउ गरिएको जानकारी दिएको छ ।
प्रहरीका अनुसार स्याङ्जा प्रहरीले फरार प्रतिवादी पक्राउ अभियान नै सञ्चालन गरेको छ, जसअन्तर्गत विगत १ महिनामा बिभिन्न मुद्दाका ८३ जना फरार प्रतिवादीहरू पक्राउ गरी जिल्ला अदालत स्याङ्जामा पेश गरिएको छ ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहत प्रहरी कार्यालयहरूबाट खटिएको प्रहरीले विभिन्न मुद्दामा फरार रहेका २५ जना प्रतिवादीहरूलाई विभिन्न स्थानबाट आइतबार पक्राउ गरेको जनाएको छ ।
जसमध्ये बहुविवाह मुद्दामा ११ महिना १९ दिन कैद तथा १० हजार रुपैयाँ जरिवाना भुक्तान गर्न बाँकी रही बिगत ४ वर्षदेखि फरार ३० वर्षीय सुरेन्द्र कुमार श्रेष्ठ, लागूऔषध मुद्दामा ४ महिना १९ दिन कैद भुक्तान गर्न बाँकी रही फरार किना परियार पक्राउ परेका छन् ।
त्यस्तै लागूऔषध मुद्दामा ११ महिना १९ दिन कैद भुक्तान गर्न बाँकी बर्लमिन भन्ने बहरुल अमिन मिया, लागूऔषध मुद्दामा फरार अन्य २ जना, जुवा मुद्दामा फरार ५ जना, घरेलु हिंसा मुद्दामा फरार १ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
त्यस्तै दुनियाबादी फौजदारी मुद्दामा फरार ३ जना, नाता कायम मुद्दामा फरार १ जना, अंशबण्डा जग्गा अंश हक कायम मुद्दामा फरार १ जना, सम्बन्ध बिच्छेद मुद्दामा फरार २ जना, कुटपिट मुद्दामा फरार २ जना, जालसाजी मुद्दामा फरार १ जना, डाँका मुद्दामा फरार ४ जना गरी २५ जना फरार प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।