काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अब ब्राजिलमाथि निशाना साँधेका छन् । उनले ब्राजिलबाट आयात हुने वस्तुहरूमा ५० प्रतिशतसम्म कर लगाउने घोषणा गरेका हुन् ।
आफ्नो ट्रुथ सोसलमा एउटा पत्र सार्वजनिक गर्दै ट्रम्पले ब्राजिलका पूर्वराष्ट्रपति जायर बोल्सोनारोमाथि लगाइएको मुद्दाको पनि निन्दा गरेक छन् । ट्रम्पले यो एउटा लाजमर्दो कुरा भएको र कुनै ठोस प्रमाणबिना आरोप लगाउने काम भएको टिप्पणी गरेका छन् ।
बोल्सोनारोमाथि ८ जनवरी सन् २०२३ मा ब्राजिलको राजधानी ब्रासिलियामा भएको दंगाबाट सत्ता हत्याउन खोजेको आरोप छ । उनले बोल्सोनारोमाथि अभियोग लगाएर स्वतन्त्र चुनावमाथि हमला गरिएको टिप्पणी गरेका छन् ।
‘ब्राजिलमा स्वतन्त्र चुनावमाथि हमला भइरहेको छ र जनताको अभिव्यक्तिको स्वतन्त्रतालाई नियन्त्रण गरिँदै छ,’ ट्म्पले भनेका छन्, ‘यसकारण २०२५ अगस्ट १ देखि ब्राजिलबाट अमेरिका आउने सबै उत्पादनहरूमा ५० प्रतिशत कर लगाइनेछ ।’
ट्रम्पले ब्राजिलका पूर्वराष्ट्रपति बोल्सोनारो एक सम्मानित नेता भएका र उनीसँग गरिएको व्यवहार अन्तर्राष्ट्रिय स्तरमा लाजमर्दो रहेको उल्लेख गरेका छन् । यो मुद्दा तुरुन्तै खारेज हुनुपर्ने उनको भनाइ छ ।
ट्रम्पले बुधबार अगस्ट १ देखि ७ अन्य देशहरूमा पनि ट्यारिफ लगाउने घोषणा गरेका छन् । यी देशहरूमा फिलिपिन्स, ब्रुनाई, अल्जेरिया, मोल्डोभा, इराक र लिबिया समावेश छन् । ट्रम्पले यी देशका नेताहरूलाई पठाइएको आधिकारिक पत्रमा ट्यारिफको विवरण साझा गरेका छन् ।
अल्जेरिया, इराक, लिबिया र श्रीलंकामा ३० प्रतिशत ट्यारिफ लगाइएको छ । त्यस्तै, ब्रुनाई र मोल्डोभामा २५-२५ र फिलिपिन्समा २० प्रतिशत कर लगाइएको छ ।
ट्रम्पको यो घोषणा दक्षिण कोरिया र जापानसहित १४ देशमा ट्यारिफ घोषणा गरेको एक दिनपछि आएको हो ।
ट्रम्पले सोमबार बंगलादेश र जापानसहित १४ देशमा ट्यारिफ बढाउने घोषणा गरेका थिए । ट्रम्प प्रशासनले सोमबार सबै प्रभावित देशहरूलाई औपचारिक रूपमा पत्र पठाएर यस निर्णयको जानकारी दिएको थियो ।
यस निर्णयअन्तर्गत केही देशहरूमा २५ प्रतिशत कर लगाइएको छ, जबकि केहीमा ३० प्रतिशतदेखि ४० प्रतिशसम्मको भारी शुल्क लगाइएको छ । दक्षिण कोरिया र जापानका नेताहरूलाई ट्रम्पले सबैभन्दा पहिले पत्र पठाएर उनीहरूका देशबाट आउने सामानमा अब २५ प्रतिशत शुल्क लाग्ने बताएका थिए ।