काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा (आज) मंगलबार बस्दैछ ।
उक्त सचिवालय बैठकको तयारीस्वरूप अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'ले सोमबार छलफल गरेका थिए ।
यसअघि तत्कालीन माओवादी केन्द्रको मुख्यालय रहेको पेरिसडाँडामा नेकपाको सचिवालय बैठक बसेको थियो । उक्त बैठकमा रहेको कार्यसूचीमा थप छलफलका लागि बैठक सारिएको थियो ।
आइतबार पेरिडाँडामा बसेको बैठकमा चारवटा कार्यसूचीमा छलफल भएको थियो । त्यसमा पनि मन्त्रिपरिषद् पुर्नगठनबारे नीतिगत छलफल भएको थियो ।
त्यसो त पछिल्लो समय बस्ने गरेका नेकपाका प्रायः हरेकजसो बैठकमा मन्त्री परिवर्तन गर्ने एजेन्डा प्रवेश हुँदै आएका छन् ।
तर, यसमा नेकपाले स्पष्ट निर्णय गरिसकेको छैन । नेकपामा बढेको आन्तरिक विवादले कारण मन्त्री परिवर्तन सम्बन्धी निर्णयलाई पटक-पटक प्रभावित पार्दै आएको छ ।
एकातर्फ भइरहेका मन्त्रीहरूलाई हटाएमा उनीहरू असन्तुष्ट हुने र अर्कातर्फ मन्त्री परिवर्तन गर्ने भनेर नेताहरूलाई आफ्नै पक्षमा 'होल्ड' गरिराख्ने जस्तो स्थिति देखिएको छ ।
मापदण्ड बनाउन मुस्किल
सचिवालयले मन्त्री परिवर्तनका लागि मापदण्ड बनाउने र त्यस आधारमा अध्यक्षद्वयले मन्त्री परिवर्तनको निर्णय लिने भनिएको छ ।
नेकपको शीर्ष नेतृत्वले मापदण्डका आधारमा मन्त्रीको सूची बनाउने होइन कि मन्त्रीको सूची बनाएर त्यस आधारमा मापदण्ड बनाउन बढी सहज ठान्दै आएको प्रष्टै देखिन्छ ।
मन्त्री परिवर्तनका लागि 'लिस्ट' तयार पार्दा नेताहरूले मूलतः आफू निटकटका र पार्टीमा प्रभावशाली मानिएका व्यक्तिलाई समावेश गर्न चाहन्छन् । त्यसो गर्दा गुटगत स्वार्थको टकराव हुनसक्ने स्थिति सिर्जना हुन सक्छ ।
पूर्वमाओवादी नेता तथा मन्त्रीले प्रचण्डलाई महत्वपूर्ण निर्णयहरूमा साथ नदिनु र पूर्वएमालेका नेताले प्रचण्ड-ओलीबीचको संघर्षमा ओलीको साथ छाड्नुले यसैको संकेत गर्दछ ।