काठमाडौं । निर्वाचन आयोगले रुपन्देही क्षेत्र नम्बर ३ मा हुन गइरहेको उपचुनावको कार्यक्रम स्वीकृत गरेको छ । उक्त क्षेत्रमा यही कात्तिक २७ गते उपचुनाव हुन लागेको हो ।
आयोगकी प्रवक्ता तथा सहसचिव निता पोखरेल अर्यालका अनुसार स्वीकृत कार्यक्रमअनुसार २०८२ असोज २१ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुनेछ । सोही दिन बेलुका ५ बजेदेखि ७ बजेसम्ममा उम्मेदवारको सूची प्रकाशन हुने उनले जानकारी दिइन् ।
आयोगले सूचीमा रहेका उम्मेदवारको विरोधमा उजुरी दिने अवधि २०८२ असोज २२ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मका लागि तोकेको छ ।
सोही दिनको दिउँसो ३ बजेदेखि असोज २३ गते बेलुका ५ बजेसम्ममा मनोनयनपत्र र उजुरी उपर जाँचबुझ एवम् निर्णय गरी असोज २३ गते बेलुका ५ बजेदेखि ७ बजेसम्ममा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको नामावली प्रकाशन गरिने उनले जानकारी दिइन् ।
त्यस्तै २०८२ असोज २४ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सकिनेछ । सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्ममा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने उनले जानकारी दिएकी छन् ।
सोही दिन दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम रहेको छ । निर्वाचन कार्यक्रम अनुसार मिति २०८२ कात्तिक १७ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ ।
प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ को समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएको व्यक्ति उम्मेदवार हुन नपाउने कानुनी व्यवस्था रहेको समेत आयोगले जनाएको छ ।
