काठमाडौं । राप्ती हाइड्रो जनरल कन्स्ट्रक्सन लिमिटेडले अवितरित हकप्रद शेयर लिलाम बिक्रीका लागि राखेको छ ।
कम्पनीले यसअघि १:१ को अनुपातमा हकप्रद शेयर बिक्री खुला गरी आवेदन मागेको थियो । तर, ७ लाखकित्ताभन्दा बढी शेयरमा आवेदन नपरेपछि कम्पनीले उक्त शेयर बोलकबोल बढाबढ गरी बिक्रीका लागि राखेको हो ।
कम्पनीका अनुसार सर्वसाधारण समूहतर्फ ५ लाख ६४ हजार १० कित्ता र सर्वसाधारण समूहतर्फ (लकइनमा रहेको) १ लाख ४० हजार १०१ कित्ता गरी कुल ७ लाख ४ हजार १११ कित्ता शेयर बिक्रीका लागि राखिएको हो । यस्तो लकइन अवधि यही साउन ८ गते सकिनेछ ।
कम्पनीले उक्त शेयर प्रतिकित्ता न्यूनतम १०० रुपैयाँमै बिक्री गर्न लागेको हो । न्युनतम १०० कित्ता र बढीमा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
शेयर किन्नका लागि साउन १३ गतेदेखि साउन २० गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ । यस्तो बोलपत्र काठमाडौंको नक्सालस्थित मुक्तिनाथ क्यापिटल लिमिटेडको कार्यालय पाइनेछ ।
यसका साथै मुक्तिनाथ विकास बैंकको ठिमी, कुमारीपाटी, बिर्तामोड, विराटनगर, जनकपुर, नारायणगढ, चिप्लेढुंगा, बाग्लुङ, बुटवल, घोराही, नेपालगंज, विरेन्द्रनगर, धनगढी र महेन्द्रनगर शाखा कार्यालयमा उपलब्ध हुनेछ ।
यसमा कम्पनीको संस्थापक शेयरधनी, सर्वसाधारण, कम्पनी, संघसंस्था सबैले आवेदन दिन सक्नेछन् ।
