काठमाडौं । मंगलबार सम्पन्न नेकपा एमालेको केन्द्रीय कमिटी बैठले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेमा सक्रिय राजनीति गर्नबाट रोक लगाउने निर्णय गर्यो ।
यो निर्णयसँगै एमालेको सक्रिय राजनीतिमा पुनरागमन गर्ने भण्डारीको प्रयास तत्कालका लागि पूरा नहुने भएको छ ।
पार्टीकी उपाध्यक्षसमेत भइसकेकी भण्डारी एमालेमा सक्रीय हुँदा त्यसले अध्यक्ष केपी ओलीमाथि न चुनौती थप्ने कतिपयको विश्लेषण थियो । अनि एमाले केन्द्रीय कमिटीले गरेको निर्णय भने ओलीको अनुकुलतामा भएको टिप्पणी पनि भइरहेको छ ।
तर, भण्डारीकी छोरीसमेत रहेकी उषा किरणले भने यो ‘तिगडम’बाट आफू अचम्ममा नपरेको जिकिर गरेकी छन् ।
‘तपाईंहरूमध्ये कति जना यो निर्णयबाट छक्क पर्नुभएको देखेर म छक्क परेँ । तपाईंहरू मानव प्रकृतिलाई नहेरी कसरी बाँचिरहनुभएको छ ? निर्णय र निर्णयमा पुग्न गरिएका तिगडम दुवैबाट म चाहिँ अच्चमित छैन ।‘
उनले यो विषय खुला रूपमा बाहिर आएको भन्दै व्यङ्ग्य पनि गरेकी छन् । ‘म खुसी छु कि यो खुला रूपमा बाहिर आयो,’ उषा किरणले फेसबुकमा लेखेकी छन् ।
‘हामीलाई त आमाले राजनीति गर्न मन छैन भने पनि सधैँ देखिने गरी पार्टीको समर्थनमा उभिनु, नैतिक समर्थन गर्नु, टाढा नजानु भन्नुहुन्छ र सोही अनुरुप कोशिश गरियो,‘ उनी अगाडि लेख्छिन्, ‘तर विगतको एक महिनादेखि मलाई ज्ञान भयो नैतिक समर्थन पनि गर्न नसकिने तहसम्म पनि पुर्याउने रहेछन् । र नैतिक समर्थन खोज्दैनन् पनि । यो ज्ञानको बोझ आज यहाँ विसाउने मौका यो प्रकरणले दियो- त्यस कारण यो प्रकरणलाई धन्यवाद !’
यस्तो छ उषा किरणको स्टाटसः
तपाईंहरू मध्य कति जना यो निर्णयबाट छक्क पर्नुभएको देखेर म छक्क परें। तपाईंहरू मानव प्रकृतिलाई नहेरी कसरी बाँचिरहनुभएको छ? निर्णय र निर्णयमा पुग्न गरिएका तिगडम दुवैबाट म चाहीं अच्चमित छैन। म खुसी छु कि यो खुला रूपमा बाहिर आयो। अनि, आज कमरेड पुष्पलालको स्मृति दिवस पनि रहेछ, कस्तो संयोग!! मलाई उहिले उहिले लाग्थ्यो किन उहांको परिवार cpn uml मा नैतिक समर्थन गर्न पनि देखिने गरि प्रस्तुत हुंदैन, हामीलाई त आमाले राजनिती गर्न मनछैन भनेपनि सधैं देखिने गरि पार्टीको समर्थनमा उभिनु, नैतिक समर्थन गर्नु , टाढा नजानु भन्नुहुन्छ र सोही अनुरुप कोशिश गरियो। तर विगतको एक महिनादेखि मलाई ज्ञान भयो नैतिक समर्थन पनि गर्न नसकिने तहसम्म पनि पुर्याउनेरहेछन्। र नैतिक समर्थन खोज्दैनन् पनि। यो ज्ञानको बोझ आज यहां बिसाउने मौका यो प्रकरणले दियो- त्यस कारण यो प्रकरणलाई धन्यवाद!
|