काठमाडौ । मान्छेको रुचिको कुनै सीमा छैन । त्यस्तै रुचिले गर्दा नै विश्वमा नयाँ नयाँ खोज, अनुसन्धान तथा कीर्तिमानहरू बन्ने र भत्कने गरेका छन् । आज हामी तपाईंलाई यस्तै एउटा झोलाको बारेमा जानकारी दिँदै छौँ जुन १ अर्बभन्दा बढीमा बिक्री भएको छ ।
ब्रिटिस मूलकी गायिका तथा अभिनेत्रीको स्वामित्वमा रहेको उक्त झोलाले लिलाम बिक्रीको इतिहासमा नयाँ कीर्तिमान कायम गरेको छ । उक्त झोलाको प्रोटोटाइप युरोपमा लिलामीमा बेचिएको सबैभन्दा महँगो फेसन एक्सेसरी बनेको छ ।
निकै महँगो मूल्यमा उक्त ब्यागको लिलामी भएपछि बीबीसीलगायत अन्तर्राष्ट्रिय मिडियाहरूले निकै महत्त्वका साथ उक्त समाचार प्रकाशित गरेका छन् ।
यो लिलामी जुलाई १० मा भएको हो । उक्त लिलामीमा सो ब्यागले करिब ८.६ मिलियन युरो मूल्य पाएको थियो । उक्त रकमलाई अहिले नेपाली मुद्रामा रुपान्तरण गर्दा १ अर्ब ३९ करोड ६७ लाख रुपैयाँभन्दा बढी हुन आउँछ । एउटा ब्याग यति ठूलो मूल्यमा बिक्री हुनुले मानिस आफ्नो रुचिका लागि कुन हदसम्म जान सक्छ भन्ने देखाउँछ ।
यो ब्याग हालसम्म लिलामीमा बिक्री भएकामध्ये विश्वमै सबैभन्दा उच्च मूल्य पाउने ह्यान्डब्याग बनेको छ ।
यस्तो छ उक्त झोलाको कथा
कालो रङ्गको उक्त ब्याग गायिका तथा नायिका जेन बर्किनका लागि बनाइएको थियो । बर्किनका लागि सन् १९८५ मा यो ब्याग बनाइएको थियो ।
एक हवाई यात्राका क्रममा बर्किन अमरेस अर्थात् फ्रान्सको एक लग्जरी र चर्चित फेसन ब्रान्डका प्रमुख नजिकै बसेकी थिइन् । त्यसक्रममा बर्कनको सामान झर्यो ।
त्यसपछि उनले उक्त फेसन ब्रान्डका प्रमुखलाई प्रश्न गरिन्- तपाईंहरू अलि ठूलो ब्याग किन बनाउनुहुन्न ?
त्यसपछि ती व्यक्तिले सोही प्लेनमा उक्त झोलाको डिजाइन तयार पारे । १० जुलाईमा भएको लिलामीमा उच्च मूल्य पाउने ब्याग सोही प्रोटोटाइप हो ।
यो लिलामीको आयोजना सदबीज नामक चर्चित कम्पनीले गरेको थियो । जसमा जापानको एक निजी कम्पनीकी कलेक्टरले उक्त ब्याग लिलामीमा जितेकी हुन् ।
लिलामकर्ता कम्पनी सोथबीजले भनेको छ- असाधारण मूल्यले यो ह्यान्डब्यागलाई लिलामीमा बेचिएको विश्वको दोस्रो सबैभन्दा मूल्यवान फेसन वस्तु र युरोपमा सबैभन्दा मूल्यवान बनाएको छ ।
लिलामीमा उच्च मूल्य पाएपछि सोथबीजको ह्यान्डब्याग तथा फेसन विश्वव्यापी प्रमुख मोर्गान हलिमीको भनाइ थियो- एउटा कथाको शक्ति तथा असाधारण र अद्वितीय उत्पतिहरू संकलनको जोश र इच्छा प्रज्वलित भएको छ ।
एजेन्सीको सहयोगमा
विश्वका यस्तै रोचक र ज्ञानवर्द्धक जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।