काठमाडौं । थाइल्यान्ड र कम्बोडिया केवल छिमेकी देश मात्र होइनन्, उनीहरूको रितिरिवाज तथा संस्कृतिललगायत धेरै कुरामा समानता छ । दुवै देशका अधिकांश नागरिक बौद्ध धर्म मान्छन् । दुवै देशमा अन्य धर्म मान्नेहरूको संख्या निकै कम छ ।
तर, यति धेरै समानता भएर पनि राजनीति र लामो समयदेखि चल्दै आएको सीमा विवादले यी दुई देश युद्ध मैदानमा पटक-पटक आमनेसामने हुँदै आएका छन् । त्यसको पछिल्लो कडीको रूपमा हालै दुई देशका सेनाहरूबीच भएको गोली हानाहानमा परी सेनाका साथसाथै सर्वसाधारणले समेत ज्यान गुमाउनुपरेको छ ।
पछिल्लोपटक दुई देशका सैनिकहरूबीच भएको झडपलाई पनि त्यही पुरानो विवादलाई मानिएको छ, जसको निब ११८ वर्षपहिले गाडिएको थियो । यो विवादमा फ्रान्स पनि जोडिएर आउँछ ।
-1753688393.jpg)
११८ वर्ष पुरानो त्यो विवाद
सन् १९०७ मा कम्बोडिया फ्रान्सको अधिनमा थियो । कम्बोडियामा फ्रान्सको नियन्त्रण कायम रहेको बेला थाइल्यान्डसँग कम्बोडियाको ८१७ किलोमिटर लामो सीमारेखा कोरिएको थियो ।
थाइल्यान्डले उक्त सीमाको विरोध जनायो । कारण थियो- उक्त नक्सामा प्रिह विहियर (प्रिय बिहार) मन्दिर कम्बोडियामा पारिएको थियो ।
यो सीमामा कम्बोडिया पनि खुस भने थिएन । मुएन थाम मन्दिर थाइल्यान्डमा देखाइएको थियो । उक्त मन्दिरलाई कम्बोडियाले आफ्नो मान्ने गर्दथ्यो । यसरी हेर्दा दुवै देश सीमा विभाजनलाई लिएर खुसी थिएनन् ।
-1753688408.jpg)
यो एउटा यस्तो विषय बन्यो जुन दुवै देशबीच पटकपटक उचालिँदै र केही समयका लागि शान्त हुँदै आएको छ । यही विवादले धेरै हदसम्म सांस्कृतिक समानता भएका दुई छिमेकी देशलाई पटक-पटक युद्धको मैदानमा पुर्याउने गरेको छ ।
तर, दुवै देशबीचको सम्बन्ध सधैँभर खराब भने भएन । दुई देशका नेताहरूबीच राम्रो सम्बन्ध पनि रह्यो । खासगरी थाक्सिन शिनावात्रा र हुन सेनबीचको मित्रवत सम्बन्ध देखिएको थियो ।
पछिल्लो घटनाः
मे २८ को दिन बिहान ६ बजे आसपास थाइल्यान्ड र कम्बोडियाका सैनिकबीच झडप सुरु भयो । उक्त झडप १० मिनेटमा सकियो ।
झडप १० मिनेटमा टुंगिए पनि त्यसमा परी कम्बोडियाली सेनाका लेफ्टिनेन्ट सुओन रौनको मृत्यु भयो । त्यसबेला दुवै देशका सैनिकले एकअर्कामाथि पहिले आक्रमण गरेको आरोप लगाए ।
-1753688406.jpg)
यो घटनापछि थाइल्यान्ड र कम्बोडिया दुवै देशले सीमामा सैनिकहरूको तैनाथी बढाए । सँगै विवाद शान्त पार्ने प्रयास पनि भयो ।
थाइल्यान्डकी प्रधानमन्त्री पाइतोग्तार्न शिनावात्राले जुन १५ मा कम्बोडियाका पूर्वप्रधानमन्त्री हुन सेनलाई फोन गरिन् । फोन सम्वादका क्रममा पाइतोग्तार्नले हुन सेनलाई अंकल भनेर सम्बोधन गरिन् ।
यी दुई नेताबीच टेलीफोनमा १७ मिनेटसम्म कुराकानी भयो । तर, पछि उक्त कुराकानी लिक भयो ।
आफ्नी प्रधानमन्त्री शिनावात्राले कम्बोडिया (सत्रु देश ?) का पूर्वप्रधानमन्त्री, त्यहाँका एक प्रभावशाली नेता हुन्, टेलिफोनमा गरेको कुराकानी लिक भएपछि थाइल्यान्डमा हंगामा मच्चियो ।
-1753688403.jpg)
अनि त्यही विवादका कारण शिनावात्रा कुर्सी छाड्न बाध्य भइन् । अनि २४ जुलाईमा थाइल्यान्ड र कम्बोडियाबीच युद्ध सुरु भयो । दुवै देशका सैनिकहरूले एकअर्काविरुद्ध गोली प्रहार गरे ।
सीमा क्षेत्रका सर्वसाधारणलाई अन्यत्र सारियो । कूटनीतिक नियोगहरूलाई अलर्टमा राखियो । एक अर्का देशमा रहेका आफ्ना नागरिकलाई फिर्ता बोलाइयो । समग्रमा दुवै देशमा युद्धको स्थिति देखा पर्यो ।
युद्धको तीन दिनपछि अमेरिकाको प्रवेश हुन्छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले थाइल्यान्ड र कम्बोडिया युद्धविरामका लागि सहमत भएको बताउँछन् । तर, यति हुँदासम्म पछिल्लो युद्धमा परेर ३३ जनाको ज्यान गइसकेको छ भने २ लाखभन्दा बढी विस्थापित भएका छन् ।
शिनावात्रा र हुन सेनको पारिवारिक मित्रता
थाइल्यान्डका पूर्वप्रधानमन्त्री थाक्सिन शिनावात्रा तथा कम्बोडियाका पूर्वप्रधानमन्त्री हुन सेन पुराना मित्र हुन् । उनीहरूको मित्रता सन् १९९० को दशकमा सुरु भएको मानिन्छ । त्यसबेला थाक्सिनले आफ्नो कम्पनीका माध्यमबाट कम्बोडियामा लगानी गरेका थिए ।
उनै थाकसिन सन् २००१ मा थाइल्यान्डको प्रधानमन्त्री बने । तर, सन् २००६ मा सेनाले उनलाई अपदस्त गर्दै सत्ताबाट हटाइदियो । थाकसिन देश छाडेर भाग्न बाध्य भए ।
देशबाट भागेका थाकसिनलाई कम्बोडियाले सरण दियो । हुन सेनले सन् २००९ मा कम्बोडियाका आर्थिक सल्लाहकार पनि बनाए ।
अहिलेको विवाद र सैन्य झडपसँग यो सम्बन्धको साइनो पनि जोडिएको छ ।
यही सम्बन्धको कारण थियो मे २८ मा थाइल्यन्ड र कम्बोडियाबीचको विवाद समाधान गर्न थाकसिनकी छोरी तथा थाइल्यान्डकी प्रधानमन्त्री पाइतोग्तार्न शिनावात्राले कम्बोडियाका पूर्वप्रधानमन्त्री हुन सेनलाई फोन गरेकी थिइन् ।
हुन सेनले सन् २०२३ मा कम्बोडियाको प्रधानमन्त्री त्यागेका थिए । यद्यपि, कम्बोडियामा लामो समय शासन गरेका र अहिले उनका छोरा सत्तामा रहेकाले पनि हुन सेनको प्रभाव कम्बोडियामा उच्च छ । सोहीकारण पाइतोग्तार्नले हुन सेनलाई फोन गरेर विवाद समाधानको प्रयास गरेकी थिइन् ।
तर, हुन सेनले उक्त फोन कलको रेकर्डिङ फेसबुकबाट लिक गरिदिए । जसका कारण पाइतोग्तार्न विवादमा आइन् । र, त्यहाँको एक अदालतले उनलाई पदबाट हटाएको छ । अहिले थाइल्यान्डमा कार्यवाहक प्रधानमन्त्रीले मुलुक चलाइरहेका छन् ।
हुन सेनसँगको कुराकानीमा पाइतोग्तार्नले उनलाई अंकल भनेर सम्बोधन गरेकी छन् । उनले आफूहरू दुवै देशले शान्ति चाहेको बताएकी छन् । उनले आफ्नो देशको सेनाको पनि आलोचना गरेकी छन् ।
उनले आफूलाई भतिजी सम्झिएर केही सहानुभूति राख्न पनि भनेकी छन् । अनि उनले हुन सेनलाई कुनै माग भए आफूसँग भन्न पनि आग्रह गरेकी छन् ।
उक्त कुराकानीमा हुन सेनले सबै सीमाहरू पहिले जस्तै खोलिनुपर्ने बताएका छन् । कम्बोडियाको चाहना यही भएको र यही पहिलो कदम हुने बताएका छन् । तर, थाइल्यान्डले अहिलेसम्म त्यस्तो कदम नउठाएको उनको भनाइ छ ।
-1753688399.jpg)
हुन सेनले लिक गरिदिए फोन कल
हुन सेनले यो फोन कललाई लिक गरिदए । सुरुमा यो कल कसरी लिक भयो भन्नेमा अन्योल देखिएको थियो । तर, पछि हुन सेनले यो फोन कल थाइल्यान्ड र कम्बोडियाका ८० जना उच्चअधिकारीसँग आफूले उक्त कल रेकर्डिङ शेयर गरेको स्वीकार गरेका छन् ।
१७ मिनेटसम्म कुराकानी भएको बताउँदै हुन सेनले अहिले ९ मिनेटको कुराकानी लिक भएको बताउँदै थाइल्यान्ड सरकारले चाहेमा १७ मिनेटको पूरा कुराकानी शेयर गर्न तयार रहेको बताएका छन् । यो गलत बुझाई नहोस् भन्नका लागि आफूले फोन कलको रेकर्ड गरेको हुन सेनको दाबी छ ।
थाइल्यान्डमा ठूलो प्रदर्शनः
आफ्नी देशकी प्रधानमन्त्री र लामो समयदेखि झगडा भइरहेको देशको शीर्ष नेताबीचको यो सम्वाद लिक भएसँगै थाइल्यान्डमा पाइतोग्तार्नविरुद्ध मानिसहरू आक्रोशित भए । त्यसपछि उनीविरुद्ध ठूलो प्रदर्शन भयो ।
प्रधानमन्त्री शिनावात्राले अर्को देशको शीर्ष नेतासँगको कुराकानीमा आफ्नो देशको सेना प्रमुखको आलोचना गरेपछि यो विवाद उत्कर्षमा पुग्यो । मानिसहरूलाई लाग्यो- प्रधानमन्त्री शिनावात्रा सेनाप्रमुखको विरोधमा छिन् ।
त्यसपछि शिनावात्रालाई पदबाट हटाउन माग गर्दै थाइल्यान्डमा ठूलो प्रदर्शन भयो । अनि सेनाले पनि शिनावात्राले देशको हितको रक्षा गर्न नसक्ने आरोप लगायो ।
शिनावात्राको लोकप्रियता खस्केको देखेपछि उनको गठबन्धनमा सहभागी दुई पार्टीले उनलाई दिएको समर्थन फिर्ता लिए । अनि त्यहाँको संवैधानिक अदालतले उनलाई पदबाट हटाइदियो ।
-1753688399.jpg)
मन्दिरको विषयले दुश्मन बनेका बौद्धमार्गी मित्रराष्ट्र
त्यसो त थाइल्यान्ड र कम्बोडियामा अधिकांशले बौद्ध धर्म मान्छन् । अन्य धर्म मान्नेहरूको संख्या यी दुवै देशमा निकै कम छ ।
तर, यी दुई देशबीचमा मन्दिरको स्वामित्वको विषयले लिएर पटक पटक विवाद र सैन्य झडप हुँदै आएको छ । यही जुन २४ मा थाइल्यान्ड र कम्बोडियाको सीमामा बनेको ९०० वर्ष पुरानो शिव मन्दिर क्षेत्रमा दुई देशका सेनाहरूबीच झडप भयो । दुवै देशले यो मन्दिर आफ्नो स्वामित्वमा पर्ने दाबी गर्दै आएका छन् ।
यो मन्दिर थाइल्यान्डको नक्सामा पर्छ । तर, कम्बोडिया यसलाई आफ्नो धरोहरका रूपमा मान्दछ ।