काठमाडौं । कुनै समय जनसंख्या नियन्त्रणका लागि एक सन्तान नीति अख्तियार गरेको चीनलाई अहिले घट्दो जन्मदरले सताएको छ । मुलुकमा वृद्धहरूको संख्या बढी रहेको अवस्थामा जन्मदर घटेपछि चीनले जनसंख्या बढाउन यसअघि पनि कदम उठाएको थियो । यसपटक भने चीनले जन्मदर बढाउनका लागि नगद प्रोत्साहनको घोषणा गरेको छ ।
चीनको अखबार पिपुल्स डेलीका अनुसार सोमबार चीनले राष्ट्रव्यापी रूपबा बाल हेरचाह सब्सिडी कार्यक्रम सुरु गर्ने घोषणा गरेको छ । यो मुलुकको जनसंख्या बढाउनका लागि चीनले उठाएको महत्त्वपूर्ण कदम भएको बताइएको छ ।
यो कुनै समय जन्मदर नियन्त्रणमा कडा कदम उठाएको चीनले जन्मदर बढाउनका लागि अघि बढाएको विभिन्न प्रयासहरूको एक अंश हो । यो कार्यक्रमअन्तर्गत सरकारले तीन वर्षभन्दा कम उमेरका प्रत्येक बालबालिकाका लागि परिवारलाई प्रतिवर्ष ३६ सय युयान अर्थत् करिब ५०३ अमेरिकी डलर प्रोत्साहन दिने भएको छ ।
यसलाई हालको विनिमयमा नेपाली मुद्रामा रुपान्तरण गर्दा करिब ७० हजार हुन आउँछ । यो सुविधा तीन सन्तानसम्मलाई दिने चीनको नीति छ । जसअनुसार एक परिवारले तीन २ लाख १० हजारको हाराहारीमा सुविधा पाउन सक्छन् ।
यस्तो अनुदान तीन सन्तानसम्मलाई दिइनेछ । अर्थात् तीन जना सन्ताती भएका आमाबाबुले यो सुविधा पाउनेछन् ।
अनि चीन सरकारले यसमा पनि थप सुविधा दिँदै यो व्यक्तिगत आयकरबाट मुक्त हुने जनाएको छ । अनि सरकारबाट सहायत प्राप्त गर्ने परिवारहरू (अत्यधिक गरिबीमा रहेका तथा निर्बाह भत्ता पाउने परिवारलाई) को गणना गर्दा यसरी प्राप्त नहुने रकमलाई गणना नगरिने पनि चीनले जनाएको छ । यो नीतिले प्रतिवर्ष २० लाखभन्दा बढी परिवारलाई फाइदा पुग्ने चीनले जनाएको छ ।
जानकारहरूका अनुसार निम्न प्रजननको अवस्थामा पुगेका देशहरूले जन्मदर बढाउन यस्तै प्रकारको प्रोत्साहनको कदम उठाएका छन् । चीनको यो कदमले त्यसलाई अझ व्यापक बनाएको छ ।
जस्तो चीनको राष्ट्रिय विकास सुधार आयोग (एनडीआरसी) अन्तर्गतको थिङ्क ट्याङ्क ‘चाइना माइक्रोइकनोमिक्स रिसर्च एकेडेमी’ का शोधकर्ता झांग बेन्बोको प्रतिक्रिया पिपुल्स डेलीले प्रकाशित गरेको छ । उनले त्यसमा भनेका छन्- नगद अनुदान जन्मदर बढाउने (प्रो बर्थ) उपायहरूको एक अपरिहार्य अंश हो भन्ने अन्तर्राष्ट्रिय अभ्यासहरूले देखाएको छ ।
विश्वको सबैभन्दा धेरै जनसंख्या भएकामध्ये एक मुलुक भए पनि पछिल्लो समय चीनले घट्दो जन्मर र उच्च वृद्ध जनसंख्याजस्ता जनसांख्यिकीय चुनौतीको सामना गर्दै आएको छ ।
समाचारमा जनाइएअनुसार चीनमा लगातार सात वर्षसम्म जन्मदर घट्दै गएको थियो । सन् २०२४ मा यसमा सामान्य वृद्धि देखिएको थियो । तर, त्यो चीनको जनसांख्यिकीय चिन्ता सम्बोधन गर्न पर्याप्त थिएन । एक तथ्याङ्कअनुसार गत वर्षको अन्त्यसम्ममा चीनमा ६० वर्ष वा सोभन्दा माथिको जनसंख्या ३१० मिलियन पुगेको थियो ।
चीनले पछिल्लो दशकमा परिवार नियोजन नीतिहरूलाई पनि यो चुनौतीअनुरुप बनाउन खोजेको देखिन्छ । जस्तो २०१६ मा विवाहित जोडीलाई दुई सन्तान जन्माउन दिने नीति लिएको थियो । अनि २०२१ मा भने तेस्रो सन्तान जन्माउन चाहने दम्पतिलाई सहयोग गर्ने घोषणा गरेको थियो ।