काठमाडौं । अमेरिकाले रुसनजिक दुई दुईवटा न्युक्लियर पनडुब्बी परिचालन गर्ने भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार यस्तो आदेश दिएका हुन् ।
यसका साथै ट्रम्पले रुसलाई गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी पनि दिएका छन् । यद्यपि, उनले पनडुब्बी कहाँ परिचालन हुन्छ भन्ने कुरा स्पष्ट पारेका छैनन् ।
यसअघि ट्रम्पले युक्रेनसँगको युद्ध रोक्न रुसलाई दबाब दिँदै आएका थिए । तर, रुसले त्यसलाई स्वीकारेको थिएन । त्यसपछि रुसका पूर्वराष्ट्रपति दिमित्री मेदभेदेवले अमेरिकाले दिएका हरेक आदेश रुसले नमान्ने बताएका थिए ।
उनले भनेका थिए- ट्रम्पले दिएका नयाँ नयाँ अल्टिमेटम मान्न र युद्धको धम्किबाट डराउनका लागि हामी इजरायल या इरान होइनौँ । उनले आफूहरूसँग सोभियत संघको सयमदेखि नै परमाणु उपकरण भएको चेतावनी दिएका थिए ।
यसपछि आक्रोशित भएका ट्रम्पले एटोमी पनडुब्बी परिचालनको आदेश दिएका हुन् । मेदभेदेवको उक्त भनाइलाई जवाफ फर्काउँदै ट्रम्पले भनेका छन्- अमेरिका रुसको परमाणु खतराको जवाफ दिन पूर्ण रूपमा तयार छ ।
ट्रम्पको यो आदेशपछि रुसी सांसद विक्टर वोडोलात्स्कीले रुस अमेरिकाले दुईवटा पनडुब्बी परिचालन गर्दैमा नडराउने बताए । उनले भनेका छन्- रुससँग पहिलैदेखि यति न्युक्लियर सबमरिन छन् । जसका कारण अमेरिकाका दुईवटा पनडुब्बीलाई सहजै सम्हाल्न सक्छौँ ।
उनले सरकारकी समाचार एजेन्सी ताससँगको कुराकानीमा भनेका छन्- महासागरहरूमा रुसको न्युक्लियर सबमरिनको संख्या अमेरिकाको भन्दा बढी छ । ट्रम्प जुन दुई सबमरिन पठाउँदै छन् ती पहिल्यैदेखि हाम्रो निशानामा छन् यसैले यसमा रुसले कुनै अलग प्रतिक्रिया दिन जरुरी छैन ।