कलैया । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले मधेशलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिए पनि कुनै राहत प्याकेज नल्याउनु सरकारको नालायकीपन भएको टिप्पणी गरेका छन् ।
बाराको कलैयास्थित उद्योग बाणिज्य संघको सभाहलमा आजपाले आज आयोजना गरेको कार्यक्रममा साहले राहत प्याकेजबिना सुख्खाक्षेत्र घोषणाले पीडितलाई झन् पीडित बनाएको बताए । मधेशमा जलसंकट देखिएपछि सरकारले मधेशका आठ जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो । तर सरकारले अहिलेसम्म राहतको कुनै प्याकेज ल्याउन नसकेको साहले बताए ।
‘मधेशमा जलसंकटले सर्वसधारणदेखि किसानसम्म मर्कामा परेका छन्, समस्यामा छन् । सरकारले विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्नु त ठिकै हो । तर के सरकारको काम केवल संकटग्रस्त घोषणामात्रै हो ? के सरकारले पिडामा रहेका ति मान्छेका लागि कुनै राहतको प्याकेज ल्याउँनु हुँदैन ? राहत प्याकेजको कुनै योजना नल्याउनु सरकारको नालायकीपन हो,’ साहले भने ।
तराई मधेशमा पानीको हाहाकार छ । जलसंकट भएर किसानदेखि सर्वसधारणसम्म पीडामा रहेको बताउँदै सरकारको जिम्मेवारी संकटग्रस्त क्षेत्र घोषणा गर्नु मात्रै नभएकी साहले बताए । पीडितलाई तत्काल राहत प्याकेजसहित दीर्घकालीन रूपमा पानीको समस्या समाधानमा सरकार लाग्नुपर्ने उनको भनाइ छ ।
मधेशमा जलसंकट देखिएपछि हेलिकोप्टरमा सयर गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पाँच सय डिपबोरिङ गाड्ने घोषणा गरेको साहको भनाइ छ । तर हालसम्म एउटा पनि डिपबोरिङ नगाडिएको भन्दै उनले प्रधानमन्त्रीको घोषणा हावादारी गफ मात्रै भएको टिप्पणी गरे ।
‘प्रधानमन्त्रीजी हेलिकोप्टरमा सयर गर्दै आउनुभयो र पाँच सय डिप बोरिङ गाड्ने भन्नुभयो । म सोध्न चाहन्छु त्यो पाँच सय डिप बोरिङ कहाँ छ ? कहिले गाड्ने हो ? यस्तो हावादारी गफ गरेर जनताको भावनासँग खेलवाड गर्न पाइन्छ ?,’ साहले प्रश्न गरे ।
‘प्रधानमन्त्रीजी तपाईंको सुख्खाक्षेत्र घोषाण के भयो ? तपाईंले मधेशमा पाँच सय डिपबोरिङ गाड्छु भन्नुभएको थियो । तर आज तीन हप्ता हुँदा समेत त्यो डिपबोरिङ कहाँ–कहाँ गाड्नुभयो ? डिपबोरिङ बारेमा तपाईंकै सरकारी निकायलाई थाहा छैन । न सिँचाइलाई थाहा छ, न त खानेपानी मन्त्रालयलाई थाहा छ,’ साहले भनिन्, ‘न योजना छ, न बजेट छुट्याउनुभएको छ । मधेशी जनतासँग यस्तो भद्धा मजाक किन ? तपाईं त विदेशबाट महँगो मिनिरल वाटर मगाएर खानुहुन्छ । तर, मधेशका जनताले साधारण पानी नपाएर तड्पाउने काम किन गर्नुहुन्छ ?’