काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रेसजगत् संक्रमणकालीन अवस्थामा रहेकाले समस्या देखिएको बताएका छन् ।
मंगलबार प्रेस काउन्सिल नेपालको ५१ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले समस्या औँल्याउदै गर्दा समाधानका लागि पहलकदमी लिने वचन दिए । आफू प्रेसका मुद्धामा सकारात्मक रहेको उनको भनाइ थियो ।
सोही समारोहमा काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले स्वायत्तताका पक्षमा उभिदाँ र गल्ती कमजोरी औँल्याइदिँदा काउन्सिलमाथि प्रहार भएको बताए ।
उनले पटकपटक काउन्सिलको स्वायतत्ता खोस्न खोजिएको भन्दै त्यस्ता कदमका विरूद्ध न्यायालय गुहार्नुपरेको बताएका थिए । श्रेष्ठले सरकारले जोखिमपूर्ण अवस्थामा दायित्व निर्वाह गरिरहेको काउन्सिलको बजेट कटौती, पुरस्कार वितरण रोक्का र बोर्ड बैठक तथा वार्षिकोत्सव कार्यक्रममा तालुकदार सम्पर्क मन्त्रालयका पदाधिकारीलाई सहभागी हुन नदिइएकोमा आपत्ति जनाए ।
राज्यका तीनवटा अङ्गलाई खबरदारी गर्ने चौथो अङ्गलाई अङ्गभङ्ग गराउँदै हिँड्न नहुने धारणा उहाँको थियो ।
संविधानमा पूर्ण प्रेस स्वतन्त्रता लेखेर कानुनमार्फत् चाहीँ कस्न खोजिएको भन्दै श्रेष्ठले संविधान उदार र कानुन कडा गर्दा समस्या भएको बताए । ‘यदि हामी यति कञ्जुस हुन्थ्यौँ भने संविधानमा किन पूर्ण प्रेस स्वतन्त्रता भन्ने वाक्य राखेको ?’ श्रेष्ठले सभामुख अग्नि सापकोटासँग जिज्ञासा राखेका थिए ।
सरकारले हरेक वर्ष वैशाख २५ गतेका दिन १० जना पत्रकारलाई राष्ट्रिय र वरिष्ठ पत्रकारिता पुरस्कार वितरण गर्दै आएकोमा कोरोनाको कारण देखाउँदै यसवर्ष रोकिएको तर अन्य क्षेत्रको हकमा भने उत्कृष्ट पेशागत पुरस्कार र पदकमा दोहोरो मापदण्ड देखाइएकोमा असन्तुष्टि व्यक्त गरे ।
राष्ट्रिय पत्रकारिता पुरस्कार छनौट समितिमा प्रेस काउन्सिलका अध्यक्ष र पत्रकार महासङ्का अध्यक्षसमेत सदस्य रहने व्यवस्था छ ।
कोरोनाका कारण पत्रपत्रिका प्रकाशन बन्द भएको र सञ्चारमाध्यम धरासायी भएको बेला काउन्सिलले वर्गीकरण टुंग्याएर नतिजा तयार पारे पनि सरकारले रोकेका कारण यसपटक नतिजा सार्वजनिक गर्न नसकिएको श्रेष्ठले जानकारी दिए ।