काठमाडौं । रुस र युक्रेनबीच जारी युद्ध रोक्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रयासरत छन् । तर, उनको प्रयास सफल भने भएको छैन ।
सुरुमा ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई ओभल अफिसमा बोलाएर हप्कीदप्की गरेका थिए । त्यसबेला उनी रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग नजिक देखिएका थिए ।
तर, परिस्थिति फेरिए सँगै पछिलो समय अमेरिका र रुसको सम्बन्ध चिसिएको छ । ट्रम्पले गरेको युद्धविरामको प्रस्ताव रुसले अस्वीकार गरेपछि ट्रम्प रुष्ट छन् ।
ट्रम्पको यही आक्रोश विभिन्न रूपम प्रकट हुन थालेको छ । यसअघि उनले रुसलाई लक्षित गरि दुईवटा सबमरिन परिचालन गरेका थिए । त्यसको जवाफ रुसले पनि फर्काएको थियो ।
यसका साथै अमेरिकाले रुसलाई समस्यामा पार्न उसँग तेल किनेको निहुँमा भारतमाथि भारी कर लगाएका छन् । रुसले यसको पनि जवाफ फर्काएको छ । पछिल्लो समय भारतको निहुँ बनाएर यी दुई देश भनाभन गरिरहेका छन् ।
रुससँग तेल किनेको भन्दै ट्रम्पले भारतमाथि कर लगाइएको घोषणा गरेका थिए । यसमा भारत र रुस दुवैले अमेरिकालाई कडा प्रतिक्रिया दिएका छन् ।
मंगलबार अमेरिकालाई तीखो प्रतिक्रिया दिँदै क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोवले भनेका छन्- ‘अन्य देशहरूलाई रुससँग व्यापार गर्नबाट रोक्न खोज्नु गैरकानुनी हो ।‘
उनले हरेक देशलाई आफ्नो देशको व्यापारसम्बन्धी निर्णय गर्ने हक र स्वतन्त्रता रहेको पनि बताएका छन् । त्यसमा कुनै पनि प्रकारको दबाब दिनुलाई धम्की मानिने उनले बताएका छन् ।