काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच पछिल्लो समय सम्बन्ध चिसिएको छ ।
खासगरी ट्रम्पको उतारचढावपूर्ण नीतिका कारण रुस र अमेरिकाको सम्बन्ध केही दिनमै समाधान उन्मुख र केही दिनमा थप जटिल बन्दै गएको देखिन्छ ।
सुरुमा रुसको पक्ष लिएको जस्तो देखिने गरी ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई क्यामेराकै अगाडि हप्कीदप्की गरेका थिए । उनी पछि फेरि युक्रेनतिर ढल्किएर रुसलाई कडा चेतावनी दिँदै आएका छन् ।
ट्रम्पले रुसलाई लक्षित गर्दै दुईवटा सबमरिन तैनाथ गर्न पनि आदेश दिएका छन् । जवाफमा रुसले ती आफ्नो निशानामा रहेको भन्दै इरान र इजरायललाई जसरी रुसलाई धम्क्याउन नसकिने चेतावनी दिएको थियो ।
दुई ठूला शक्ति राष्ट्रको सम्बन्धन निकै खराब दिशामा बढेपछि त्यसको कूटनीतिक समाधान निकाल्ने प्रयासले सफलता पाउने अपेक्षा गरिएको छ । त्यसको आधार हो ट्रम्प र पुटिनको भेटवार्ता तय हुनु ।
यी दुई राष्ट्र प्रमुखहरूले शुक्रबार आलास्कामा भेटवार्ता गर्नेछन् । ट्रम्पले १५ अगस्टमा हुने यो भेटवार्ताबारे आफ्नो ट्रुथ सोसल एकाउन्टबाट जानकारी दिएका छन् । यो भेटवार्तामा युक्रेन युद्धबारे चर्चा हुनेछ ।
ट्रम्पको घोषणापछि रुसी राष्ट्रपतिको कार्यालय क्रेमलिनले पनि यसको पुष्टि गरेको छ । क्रेमलिनले भनेका छन् आलास्का भेटवार्ताका लागि उपयुक्त स्थान भएको बताएका छ्न् ।
तर, यी दुई राष्ट्रप्रमुखबीच हुन लागेको भेटवार्तालाई लिएर युक्रेनले भने चिसो प्रतिक्रिया दिएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भनेका छन्- युद्धको कुनै पनि प्रकारको समाधानका लागि युक्रेनको सहभागिता अनिवार्य छ ।
स्थायी शान्तिका लगि सबै साझेदारहरूले मिलेर काम गर्नु आवश्यक रहेको उनको भनाइ छ । यसको सोझो अर्थ हो- पुटिन र ट्रम्पको वार्तालाई युक्रेनले सतर्कतापूर्वक हेर्नेछ ।
पुटिनसँगको वार्ता घोषणा गर्नुभन्दा केही समयपहिला ट्रम्पले युद्ध समाप्त गर्नका लागि युक्रेनले केही क्षेत्र त्याग्नुपर्ने हुन सक्ने बताएका थिए ।
बीबीसीका अनुसार अमेरिकास्थित सीबीएस न्युजले सूत्रको हवाला दिँदै भनेको छ- ह्वाइट हाउस युरोपेली नेताहरूलाई पूर्वी युक्रेनका डोनबस तथा क्राइमिया रुसलाई सुम्पन लागि सम्झौतामा राजी बनाउने प्रयासमा छ ।