काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच यही १५ अगस्टमा भेटवार्ता हुँदै छ । आलास्कामा हुने बहुप्रतिक्षित उक्त भेटवार्तामा मुख्य रूपमा युक्रेन युद्धको विषयमा चर्चा हुने छ ।
तर, युक्रेनका युरोपेली सहयोगी राष्ट्रहरूले भने त्यसबारे चिसो प्रतिक्रिया दिएका छन् । उनीहरूले कुनै पनि प्रकारको शान्ति वार्तामा किएभ (युक्रेन) लाई पनि सहभागी गराउन आवश्यक रहेको बताएका छन् ।
युक्रेनका सहयोगी युरोपेली राष्ट्रहरूले प्रस्ट भाषामा भनेका छन्- युक्रेनलाई सहभागी नगराई कुनै पनि शान्ति वार्ता हुन सक्दैन ।
ब्रिटेन, फ्रान्स, इटाली, जर्मनी, पोल्यान्ड, फिनल्यान्ड तथा युरोपियन युनियनका नेताहरूद्वारा जारी एक संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘किएभलाई अलग गरेर युक्रेनमा शान्तिको मार्ग तय गर्न सम्भव छैन ।’
तर, ट्रम्प र पुटिनबीच हुने तय भएको वार्तामा अहिलेसम्म पनि युक्रेनलाई निम्ता दिइएको छैन ।
युक्रेनलाई सहभागी नगराएकोमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भनेका छन्- युक्रेनबिना गरिएका कुनै पनि सम्झौता अमान्य हुनेछ ।
ह्वाइट हाउसका एक अधिकारीले भने ट्रम्प पुटिन र जेलेन्स्कीसँग त्रिपक्षीय बैठक गर्न इच्छुक भएको बताएका छन् । तर, पुटिनको त्यसमा राजी भइनसकेकाले दुई राष्ट्रपतिबीच आलस्कामा भेटवार्ता हुने तय भएको हो ।