काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार जनताको कि पार्टीको भन्ने प्रश्न गरेका छन् ।
संवैधानिक तथा अन्य स्वायत्त निकायमा गर्नुपर्ने नियुक्तिहरुमा समेत पार्टीले आफू अनुकुलको रोष्टर बनाएर पार्टीको निर्देशन बमोजिम गर्नुपर्ने कुरा आएको भन्दै नेता पौडेलले यस्तो प्रश्न गरेका हुन् ।
उनले लोकतन्त्रमा पार्टीको घोषणापत्र र उम्मेदवार हेरेर जनताले चुने पनि सरकार पार्टीको पेवा नभइ जनताको हुने बताएका छन् ।
बुधबार विहान सामाजिक सञ्जालमार्फत नेता पौडेलले यस्तो टिप्पणी गरेका हुन् ।
के भनेका छन् पौडेलले
सरकार जनताको कि पार्टीको ?
लोकतन्त्रमा पार्टीको घोषणापत्र र उमेदवार हेरेर जनताले चुने पनि सरकार पार्टीको पेवा हुँदैन, जनताको हुन्छ ।
अहिले नेपालको कम्युनिष्ट पार्टीको चालामाला हेर्दा सरकार, संबैधानिक परिषद र न्याय परिषद तथा अन्य स्वायत्त निकायमा गर्नुपर्ने नियुक्तिहरु समेत पार्टीले आफ्नो अनुकुलको रोष्टर बनाएर पार्टीकै निर्देशन बमोजिम गर्नुपर्ने भन्ने कुरो आएको छ ।
यो भनेको संबैधानिक सर्बोच्चता हैन, सर्वसत्ताबाद तिरको तानावाना हो ।
देश र जनता प्रति हैन नितान्त कम्यूनिष्ट पार्टी प्रति जवाफदेही हुने प्रथा कम्युनिष्ट अधिनायकवादमा मात्र हुन्छ ।